सार्वजनिक खरिद अनुगमन कार्यालयले ६ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। मंगलबार सूचना जारी गर्दै कार्यालयले जिम्मा लिएको काम समयमै पूरा नगर्ने कम्पनीहरूलाई कारबाही गरेको जानकारी दिएको हो।
सरोज कन्स्ट्रक्सन सुनसरी, आरोग्य कन्स्ट्रक्सन प्रालि ललितपुर, शान्ति निर्माण सेवा प्रालि ललितपुर, क्रेटर कन्स्ट्रक्सन प्रालि भक्तपुर, कृष्टल एण्ड श्रवण निर्माण सेवा काठमाण्डु, र श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी प्रालि हेटौँडा कालोसूचीमा परेका छन्। विभिन्न निकायबाट प्राप्त सिफारिसका आधारमा यी कम्पनीहरूलाई कालोसूचीमा राखिएको हो।
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यी कम्पनीहरूलाई एक वर्षदेखि तीन वर्षसम्मका लागि कालोसूचीमा राखिएको छ। यस अवधिमा उनीहरू कुनै पनि सरकारी खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।
