मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

देउवा समूहको निष्कर्ष: कांग्रेसमा एकताको सम्भावना सकियो, राष्ट्रिय भेलाको तयारी

शेरबहादुर देउवा समूहले नेपाली कांग्रेसमा पार्टी एकताको सम्भावना लगभग समाप्त भएको निष्कर्ष निकालेको छ। समूहले आगामी रणनीति तय गर्न साउन २४ देखि २९ गतेभित्र राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरेको छ। नेता मीनबहादुर विश्वकर्माले संस्थापन पक्षबाट एकताका लागि कुनै गम्भीर पहल नभएको आरोप लगाएका छन्।
Laxmi Bhattarai
वरिष्ठ संवाददाता
१ मिनेट पढाइ
आकार:
नेपाली कांग्रेस विभाजन
Share:
१९५

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले सभापति गगन थापासँग पार्टी एकताको सम्भावना लगभग समाप्त भएको निष्कर्ष निकालेको छ। यही निष्कर्षसँगै समूहले आगामी रणनीति तय गर्न राष्ट्रिय भेला बोलाउने तयारी अघि बढाएको छ।

चुनदेवीस्थित सम्पर्क कार्यालयमा इतर पक्षका नेता पूर्णबहादुर खड्काको नेतृत्वमा शनिबार बसेको देउवा समूहका शीर्ष नेताहरूको बैठकले पार्टी एकताको अवस्था, बिपी स्मृति दिवसको तयारी र संगठन सुदृढीकरणका विषयमा विस्तृत छलफल गरेको थियो।

बैठकपछि नेता मीनबहादुर विश्वकर्माले संस्थापन पक्षसँग सहमतिको सम्भावना अत्यन्त न्यून भएको बताए। उनका अनुसार साउन २४ देखि २९ गतेभित्र राष्ट्रिय भेला आयोजना गर्ने तयारी भइरहेको छ।

‘मिल्ने सम्भावना अब ९९ प्रतिशत देखिँदैन,’ उनले भने।

विश्वकर्माले सभापति पक्षबाट वार्ताका लागि कुनै गम्भीर पहल नभएको आरोपसमेत लगाए। आफूहरू एकताको पक्षमा रहे पनि संस्थापन पक्षले पटक–पटक प्रतिबद्धता जनाएर पनि त्यसलाई व्यवहारमा उतार्न नसकेको उनको गुनासो छ।

‘हामी त बाहिर छौँ, के गर्न सक्छौँ र? हामीले मिलाऔँ भन्ने नै हो। उहाँहरू आउँछु भन्नुहुन्छ, सबै गर्छु भन्नुहुन्छ, तर भोलिपल्ट आउनुहुन्न। कहिलेकाहीँ महिनौँसम्म कुनै संवाद नै हुँदैन,’ उनले भने।

उनले संस्थापन पक्षलाई एकताप्रति रुचि नरहेको हुनसक्ने टिप्पणी गर्दै अब ‘नयाँ बाटो’ रोज्ने विषयमा छलफल सुरु भएको जानकारी दिए। नेतृत्व, नीति, राजनीतिक सिद्धान्त, संगठनात्मक संरचना, विधान तथा पार्टी सञ्चालनको विधिसहित सम्पूर्ण विषय प्याकेजमै तयार गरिनेछ।

नयाँ पार्टी गठनको सम्भावना र नेतृत्वबारे सोधिएको प्रश्नमा विश्वकर्माले सबै विषय क्रमशः टुंगो लगाइने बताए। पार्टीको नाम, चुनाव चिह्न, संगठनात्मक संरचना तथा कानुनी व्यवस्थासमेत आगामी छलफलबाट तय गरिने उनको भनाइ छ।

देउवा समूहको यो निष्कर्षले नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद अब नयाँ राजनीतिक मोडतर्फ उन्मुख भएको संकेत दिएको छ।

Laxmi Bhattarai

Laxmi Bhattarai

वरिष्ठ संवाददाता

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार