नेकपा एमालेले पार्टीको संसदीय भूमिकालाई थप प्रभावकारी बनाउने उद्देश्यले आफ्ना सांसदहरूसँग अन्तरक्रिया र प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ। आइतबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सांसदहरूलाई संसदमा निर्वाह गर्नुपर्ने भूमिकाबारे प्रशिक्षण दिनेछन्।
पार्टी सचिव पद्मा अर्यालका अनुसार, सांसदहरूलाई संसद् सचिवालयका काम कर्तव्य र अधिकारबारे जानकारी गराइनेछ। संसद् सचिवालयका पूर्वसचिव हर्कराज राईले संसदीय समितिहरूको कार्यक्षेत्र र त्यसमा उठाउनुपर्ने विषयहरूमा प्रशिक्षण दिनेछन्।
पार्टी महासचिव शंकर पोखरेलले पार्टीको नीति र सांसदहरूको कर्तव्यबारे प्रशिक्षण दिनेछन्। उनले पार्टी नीति अनुरूप संसदमा भूमिका निर्वाह गर्नुपर्ने बताए। सांसदहरूले पार्टीका विभिन्न विभागहरूसँग समन्वय र परामर्श गर्नुपर्ने विषयमा पनि पोखरेलले स्पष्ट पार्नेछन्।
कार्यक्रममा दुवै सदनका सांसदहरूको सहभागिता रहनेछ। पार्टीका सम्पूर्ण विभाग प्रमुख र पूर्व सदस्यहरूलाई पनि सहभागी हुन सूचित गरिएको छ। सम्बन्धित विभागहरूले विषय विज्ञता भएका व्यक्तिहरूको नाम सिफारिस गरी सांसदहरूलाई परामर्श दिन सक्ने रोस्टर तयार गर्नेछन्।
