कोलकाता बन्दरगाहबाट पहिलो पटक नेपालका लागि सञ्चालित रेल कार्गो सेवाको पहिलो रेल विराटनगरस्थित नेपाल भन्सार यार्डमा आइपुगेको छ। यसले तेस्रो मुलुकबाट आयात हुने मालसामानको ढुवानीलाई सहज, सुरक्षित र सस्तो बनाउने अपेक्षा गरिएको छ।
पहिलो रेलमा नेपालको स्वस्तिक आयल इन्डस्ट्रिजका लागि आयात गरिएको कच्चा पदार्थ बोकेका ४० फिटका ४० कन्टेनर छन्। मर्सक लाइनका ती कन्टेनरमा इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टम जडान गरिएको छ।
यसअघि यस्तो रेल कार्गो सुविधा वीरगञ्ज नाकामा मात्र सीमित थियो। विराटनगरसम्म सेवा विस्तार भएपछि पूर्वी नेपालका उद्योगी तथा आयातकर्तालाई ठूलो राहत पुग्ने उद्योग सङ्गठन मोरङका अध्यक्ष नन्दु राठीले बताए।
पूर्ण सञ्चालनपछि रेलमार्फत एकैपटक ४५ वटासम्म ४० फिटका कार्गो कन्टेनर विराटनगर ल्याउन सकिनेछ। सडक मार्गको तुलनामा रेलमार्गबाट हुने ढुवानी सुरक्षित, भरपर्दो र कम लागतमा हुने भएकाले आयातकर्ताको ढुवानी खर्च घट्ने उद्योगी सुयष प्याकुरेलको भनाइ छ।
कोलकाताबाट विराटनगरसम्म रेलमार्फत करिब २४ घण्टामै मालसामान आइपुग्नेछ। यसले बन्दरगाहमा नेपाली आयातकर्ताले व्यहोर्नुपर्ने विलम्ब शुल्क, कन्टेनर डिटेन्सन चार्ज तथा सडक ढुवानीको अतिरिक्त भार कम गर्ने विश्वास गरिएको छ।
नेपाल–भारत पारवहन सम्झौताले तेस्रो मुलुकबाट हुने आयात–निर्यातका लागि सडक, रेल तथा जलमार्ग प्रयोग गर्न पाउने व्यवस्था गरेको छ। भारत सरकारको केन्द्रीय अप्रत्यक्ष कर तथा भन्सार बोर्डले कोलकाता, हल्दिया र विशाखापट्टनम बन्दरगाहबाट रेलमार्फत विराटनगर भन्सारसम्म कार्गो ढुवानी गर्न सकिने व्यवस्था गरेको थियो।
नेपाली महावाणिज्यदूतावासको पहलमा कोलकाता भन्सारले जोगबनीस्थित भारतीय भन्सार यार्ड हुँदै विराटनगरस्थित नेपाल भन्सार यार्डसम्म रेलमार्फत मालसामान ढुवानी गर्ने प्रक्रियागत व्यवस्था मिलाएको हो।
विराटनगरसम्म रेल कार्गो सेवा सञ्चालनमा आएसँगै पूर्वी नेपालका उद्योगी तथा आयातकर्ताको पारवहन लागत घट्नुका साथै नेपाली उद्योगहरूको प्रतिस्पर्धात्मक क्षमता थप बलियो हुने अपेक्षा गरिएको छ।
