NM Khabar 23 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

कोलकाता–विराटनगर रेल सेवा: ढुवानी लागत घट्ने, उद्योगी व्यवसायी हर्षित

• कोलकाताबाट विराटनगरसम्म कार्गो रेल सेवा सुरु भएको छ। • यसबाट ढुवानी लागत र समय ३५-४०% सम्म बचत हुने अपेक्षा छ। • उद्योगी व्यवसायीहरूले यसलाई प्रतिस्पर्धात्मक क्षमता वृद्धिको अवसर मानेका छन्।
Kamala Devi
Kamala Devi
22 July 2026, 6:05 pm १ मिनेट पढाइ
आकार:
विराटनगर कार्गो रेल
Share:

कोलकाताबाट विराटनगरस्थित एकीकृत जाँचचौकीसम्म कार्गो रेल सेवा सञ्चालनमा आएसँगै विराटनगरका उद्योगी व्यवसायीहरू ढुवानी लागत र समय दुवै कम हुने विश्वासमा छन्। यसबाट नेपाली उद्योगहरूको अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धात्मक क्षमता सुदृढ हुने अपेक्षा गरिएको छ।

विश्वका विभिन्न देशबाट उद्योगका लागि आयात गरिने कच्चा पदार्थलगायतका सामग्री सडक मार्गको तुलनामा रेलमार्फत ल्याउँदा ढुवानी खर्चमा ३५ देखि ४० प्रतिशतसम्म बचत हुने उनीहरूको भनाइ छ। मोरङ व्यापार सङ्घका अध्यक्ष अनुपम राठीका अनुसार रेलमार्गबाट सामान आयात गर्दा लागतसँगै समयको पनि ठूलो बचत हुनेछ।

अध्यक्ष राठीले सबै कन्टेनरमा जडित विद्युतीय कार्गो ट्रयाकिङ सिस्टम (ईसीटीएस) का कारण सामान सुरक्षित रहने, बाटोमा हुने चोरी वा क्षतिको जोखिम अन्त्य हुने र सामान तथा रेलको निगरानी मोबाइलबाटै गर्न सकिने बताए। उनले बन्दरगाहमा लाग्ने विलम्ब शुल्कलगायतका शुल्क घट्ने भएकाले पनि नेपाली उद्योगी–व्यवसायीलाई बहुआयामिक लाभ प्राप्त हुने जानकारी दिए।

आगामी दिनमा यस सेवाको निरन्तरताले नेपालमा उत्पादित सामग्री भारत र तेस्रो मुलुक निर्यात गर्न समेत सस्तो र छिटो हुने अपेक्षा गरिएको छ। पछिल्लो समय कार्गो रेलका लागि विराटनगरमै कार्यालय खोली कन्टेनर उपलब्ध गराउन थालेपछि नेपाली उद्योगको अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धात्मक क्षमता समेत सुदृढ हुने विश्वास गरिएको छ।

मोरङ–सुनसरी औद्योगिक करिडोरका उद्योगी–व्यवसायीले वर्षौंदेखिको सपना पछिल्लो एक दशकदेखि परिणाममुखी प्रयासले हर्षित तुल्याएको बताएका छन्। नेपाल र भारत सरकारका निकायसमक्ष सङ्घले उद्योगका लागि आवश्यक पर्ने सबै प्रकारका कच्चा पदार्थ कन्टेनर कार्गोमार्फत विराटनगर ल्याउन पाउने व्यवस्था मिलाउन माग गर्दै आएको थियो।

दुवै देशका सरकारले नीतिगत र कानुनी जटिलता फुकाइदिएपछि कोलकाता–विराटनगर सीधा कार्गो रेल सेवा सञ्चालनमा आएको हो। सङ्घका उपाध्यक्ष अनिलकुमार साह र महासचिव सञ्जयकुमार श्रेष्ठले विराटनगरसम्म कार्गो रेल आउँदा भविष्यमा उद्योग र व्यापारमा लगानी गर्न चाहने उद्योगी र व्यापारीका लागि पनि लाभदायिक हुने बताए।

मोरङ व्यापार सङ्घका पूर्वअध्यक्ष नवीन रिजालले उद्योगी र व्यापारीहरूको यो प्रयासलाई सरकारले स्वीकार गरी समस्या समाधानमा भएको प्रगतिका लागि धन्यवाद दिए।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार