२१८ जलविद्युत् आयोजनाको आरसिओडी थप्ने प्रक्रिया सुरु
नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) भएका तर विभिन्न कारणले समयमै व्यावसायिक उत्पादन सुरु गर्न नसकेका २१८ जलविद्युत् आयोजनाको व्यावसायिक उत्पादन सुरु गर्नुपर्ने अन्तिम मिति (आरसिओडी) थप्ने प्रक्रिया अघि बढाएको छ ।
प्राधिकरणले पहिलो पटक स्पष्ट मापदण्डका आधारमा आयोजनालाई चार समूहमा वर्गीकरण गर्ने नीति लागू गरेको छ । गत असार ३२ गते बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले आयोजनाको भौतिक प्रगति, पिपिएअन्तर्गतका दायित्वको कार्यान्वयन र आरसिओडीको अवस्थाका आधारमा वर्गीकरण गर्ने निर्णय गरेको हो ।
यो कदमले रुग्ण अवस्थामा रहेका जलविद्युत् आयोजनाहरूले पुनः जीवन पाउने र राष्ट्रिय ऊर्जा उत्पादनमा योगदान पुग्ने अपेक्षा गरिएको छ । वर्गीकरणपछि प्रत्येक समूहका आयोजनालाई उत्पादन सुरु गर्नका लागि आवश्यक सहजीकरण र समयसीमा निर्धारण गरिनेछ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्पष्ट मापदण्डका आधारमा गरिने यो वर्गीकरणले आयोजनाहरूको वास्तविक अवस्था बुझ्न र सोहीअनुसार सहजीकरण गर्न मद्दत पुग्ने बताए । उनले रुग्ण आयोजनालाई पुनः सञ्चालनमा ल्याउन र नयाँ आयोजनाको विकासलाई गति दिन यो प्रक्रिया कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे ।
चार समूहमा वर्गीकरण गरिएका आयोजनाहरूलाई आगामी साउन १५ गतेभित्र प्राधिकरणमा आवश्यक कागजातसहित पेश हुन निर्देशन दिइएको छ । प्राधिकरणले यसका लागि सम्बन्धित आयोजनाहरूलाई पत्राचार गरिसकेको छ ।
