NM Khabar 23 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

मनसुन जोखिम: बाढी, पहिरो र चट्याङबाट बच्न प्राधिकरणको आग्रह

मनसुन अवधिभर बाढी, पहिरो, डुबान, चट्याङ र सर्पदंश जस्ता जोखिमबाट बच्न विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह छ। यात्रा गर्नुअघि मौसम र सडकको अवस्थाबारे जानकारी लिन, वर्षाको समयमा खोला वा नदी तर्दा विशेष सतर्क रहन निर्देशन दिइएको छ। पछिल्लो २४ घण्टामा ४७ विपद् घटनामा तीन जनाको मृत्यु र आठ जना घाइते भएका छन्।
Kamala Devi
Kamala Devi
23 July 2026, 7:32 am १ मिनेट पढाइ
आकार:
मनसुन जोखिम सावधानी
Share:

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मनसुन जोखिमबारे आग्रह

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन अवधिभर बाढी, पहिरो, कटान, डुबान, चट्याङ र सर्पदंशजस्ता जोखिमको सम्भावना उच्च रहेकाले विशेष सावधानी अपनाउन आग्रह गरेको छ। जनधनको सुरक्षाका लागि पूर्वसावधानी अपनाउन भन्दै प्राधिकरणले यात्रा गर्नुअघि मौसम र सडकको अवस्थाबारे जानकारी लिन अनुरोध गरेको छ।

वर्षाको समयमा यात्रा गर्दा चनाखो रहन र सावधानी अपनाउन भनिएको छ। ठूलो पानी परेको बेला सकेसम्म रातिको समयमा यात्रा नगर्न, बाढी आएका बेला खोला, खोल्सा तथा नदी तर्ने प्रयास नगर्न प्राधिकरणले सूचनामार्फत अनुरोध गरेको छ।

वर्षा भइरहेको समयमा काठ दाउरा टिप्न, माछा मार्न वा पौडी खेल्न खोला वा नदीमा नजान, पहिरोको जोखिम भएका क्षेत्र आसपास अनावश्यक रूपमा आवतजावत नगर्न प्राधिकरणले ध्यानाकर्षण गराएको छ। जोखिमयुक्त पुल तथा खोलाको किनारामा उभिएर फोटो, भिडियो नखिच्न, पैदलयात्रा तथा हाइकिङमा सकेसम्म एक्लै नजान र विपद्को सङ्केत देखिएमा सुरक्षित स्थानमा जान र स्थानीय प्रशासन तथा सुरक्षाकर्मीलाई सम्पर्क गर्न भनिएको छ।

यसैगरी, आफ्नो घरवरिपरि रहेका ढल तथा नाली सफा राख्न, बर्खाको समयमा सर्पले डस्ने जोखिम धेरै हुने भएकाले घरवरपर सफा राख्न, राति बाहिर हिँड्दा टर्च लाइटको प्रयोग गर्नु आवश्यक छ। चट्याङ पर्न लागेमा तुरुन्त सुरक्षित स्थानमा जान, महत्वपूर्ण कागजात, अत्यावश्यक औषधि, नबिग्रने खानेकुरा एउटा झोलामा सुरक्षित राख्न, मोबाइलमा पर्याप्त ब्यालेन्स र ब्याट्री चार्ज गरेर राख्न प्राधिकरणले सूचनामार्फत आग्रह गरेको छ।

अफवाहको पछाडि नलाग्न, आधिकारिक स्रोतबाट प्राप्त सूचनामा मात्र विश्वास गर्न, मौसम र विपद्बारेको आधिकारिक सूचना नियमित सुन्न एवम् हेर्न सचेत गराइएको छ। विपद् सूचना एवम् उद्धारका लागि १२३४, १०० र १११४ तथा मौसमसम्बन्धी जानकारीका लागि ११५५ मा सम्पर्क गर्न अनुरोध गरिएको छ।

मनसुनको वर्तमान अवस्था र पछिल्लो विपद्का घटना

यस वर्षको मनसुन गत असार ५ गतेदेखि सुरु भइसकेको छ। प्राधिकरणले विपद्का कारण ठूलो जनधनको क्षति हुन नदिन र पूर्वसावधानी अपनाउनका लागि अनुरोध गर्दै आएको छ।

पछिल्लो २४ घण्टामा देशभर कुल ४७ वटा विपद्का घटना घटेका छन्। प्राधिकरणका अनुसार विपद्का कारण करिब १३ लाख १० हजार बराबरको अनुमानित क्षति भएको छ। विपद्मा परेर तीन जनाको ज्यान गएको छ भने आठ जना घाइते भएका छन्। यही साउन ५ गते बिहानदेखि ६ गते बिहानसम्म सर्पदंश र आगलागीका आठआठ वटा घटना घटेका छन्। यस्तै, बाढीका दुई, पहिरो १४, अविरल वर्षा आठ, जनावर आक्रमण तीन र हावाहुरीको एक घटना घटेका छन्।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार