मेचीनगर नगरपालिकाले करोडौँ रुपैयाँ लगानी गरेका दुई दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेका छैनन्। नीतिगत कमजोरी, निजी ट्याङ्करको कमजोर नियमन र पर्याप्त लेदो सङ्कलन नहुँदा केन्द्रहरू अपेक्षाअनुसार सञ्चालन हुन सकेका छैनन्।
एसियाली विकास बैंक र बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनको सहयोगमा सात वर्षअघि मेचीनगर–१४ दुहागढी र वडा नं ७ भान्सा खोलामा प्रशोधन केन्द्र निर्माण गरिएका थिए। दुहागढी केन्द्रले दैनिक २७ घनमिटर र भान्सा खोला केन्द्रले दैनिक १२ घनमिटरसम्म लेदो प्रशोधन गर्न सक्छन्। प्रशोधनपछि लेदोलाई कम्पोस्ट मल र सुरक्षित पानीमा रूपान्तरण गर्ने लक्ष्य छ।
चारआली साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका सचिव प्रेमराज घिमिरेका अनुसार, पूर्वाधार, ट्याङ्कर र जनशक्ति भए पनि सबै लेदो केन्द्रमै ल्याउने व्यवस्था नहुँदा सञ्चालनमा समस्या छ। सेवा शुल्कबाट उठ्ने आम्दानीले सञ्चालन खर्च धान्न नसकेको उनले बताए।
काँकडभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका कार्यालय प्रमुख दीपकप्रसाद पोखरेलले केन्द्र पूर्ण क्षमतामा सञ्चालन नभएको र खर्च आम्दानीभन्दा बढी रहेको जानकारी दिए।
मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले निजी ट्याङ्कर दर्ता अनिवार्य गर्ने र जथाभाबी लेदो विसर्जन गर्नेलाई कारबाही गर्ने नीति ल्याइने बताए। नगरपालिकाले ऐन र कार्यविधि कार्यान्वयन गरी केन्द्र पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी गरेको छ।
सरसफाइ विज्ञहरूले सेप्टिक ट्याङ्कीको लेदोको सुरक्षित व्यवस्थापन नहुँदा वातावरण प्रदूषण र जनस्वास्थ्यमा गम्भीर असर पर्ने चेतावनी दिएका छन्।
