अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई अन्तर्राष्ट्रिय ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न सरकार निरन्तर प्रयासरत रहेको बताएका छन्। कर प्रशासनलाई पारदर्शी, प्रभावकारी र विश्वसनीय बनाउन सकेमा नेपाल चाँडै नै ‘ग्रे लिष्ट’ बाट बाहिर निस्कने उनको विश्वास छ।
आन्तरिक राजस्व विभाग, लाजिम्पाटबाट देशभरका कर अधिकृतहरूलाई सम्बोधन गर्दै वाग्लेले सम्पत्ति शुद्धीकरणसम्बन्धी अपराधलाई कर प्रशासनले मिहीन ढङ्गले हेर्नुपर्नेमा जोड दिए। कर सङ्कलनका लागि जबर्जस्ती वा त्रसित बनाएर नभई स्वेच्छिक कर अनुपालनमार्फत करदाताहरूलाई समेट्नुपर्ने उनको भनाइ छ।
वाग्लेले कर प्रशासकहरूको वृत्तिविकास, काम गर्ने तरिका र राज्यलाई गरेको सहयोगका आधारमा प्राथमिकता दिइने स्पष्ट पारे। कर प्रशासनलाई चुस्त बनाउन जनशक्ति, पूर्वाधार वा सूचना प्रविधिजस्ता कुनै पनि कुराको अभाव भए निर्धक्क भन्न आग्रह गरे। राज्यलाई लाभ दिलाउनेलाई प्रोत्साहन गरिने उनले बताए।
उनले यस वर्षको बजेटले अर्थतन्त्रको जहाजलाई मोडेलको रूपमा बुझ्न आग्रह गर्दै आगामी चार आर्थिक वर्षको बजेटमार्फत सरकारले बनाउन चाहेको अर्थतन्त्रको आधार देखिने बताए। बजेटमा दिइएको छुटका योजना कार्यान्वयन गर्न, करदाता प्रोत्साहन कार्यक्रम सफल बनाउन, करदाता सचेतना वृद्धि र कारोबार डिजिटल बनाउन सबैखाले पहल गर्न विभागीय नेतृत्वलाई निर्देशन दिए।
