धनुषाधाम नगरपालिका–५ (९०० बिघा) का वडा सदस्य सुरेश साहको घरबाट प्रहरीले करिब ४०० बोरा डीएपी मल बरामद गरेको छ। साहले घरमा मल लुकाइ राखेर रातिको समयमा महँगो मूल्यमा बिक्री गरिरहेको गोप्य सूचना पाएपछि प्रहरी चौकी ९०० बिघाको टोलीले छापा मारेको थियो।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेका अनुसार बरामद भएको मलको स्रोत नखुलेपछि नियन्त्रणमा लिइएको हो। नियन्त्रणमा लिइएको मल ट्र्याक्टरमा लोड गरेर इलाका प्रहरी कार्यालय धनुषाधाम ल्याउने काम भइरहेको छ।
बरामद भएको मलको यकिन सङ्ख्या र त्यसको स्रोतबारे थप अनुसन्धान भइरहेको न्यौपानेले बताए। वडा सदस्य साह घटनापछि फरार रहेका छन्। प्रहरीले उनको खोजी कार्य तीव्र पारेको छ।
