NM Khabar 27 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

नागढुङ्गा सुरुङमार्ग आजदेखि सञ्चालनमा, शुल्क र नियम यस्ता छन्

नागढुङ्गा सिस्ने खोला सुरुङमार्ग आज सोमबार औपचारिक उद्घाटन हुँदैछ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बिहान १०:२५ बजे सुरुङमार्गको उद्घाटन गर्ने कार्यक्रम छ। उद्घाटन समारोहमा जापानका राजदूत मायदा तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्षलगायत वरिष्ठ अधिकारीहरूको उपस्थिति रहनेछ।
Laxmi Bhattarai
Laxmi Bhattarai
27 July 2026, 8:02 am १ मिनेट पढाइ
आकार:
नागढुङ्गा सुरुङमार्ग
Share:

नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको आज सोमबार औपचारिक उद्घाटन हुँदैछ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बिहान १०:२५ बजे सुरुङमार्गको उद्घाटन गर्ने कार्यक्रम छ।

उद्घाटन समारोहमा जापानका राजदूत मायदा तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्षलगायत वरिष्ठ अधिकारीहरूको उपस्थिति रहनेछ। उद्घाटनपछि निर्माणपक्षले यो सुरुङमार्ग नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ।

मन्त्री लम्साल, जापानी राजदूत र जाइकाका अध्यक्षले सुरुङमार्गभित्र गाडी चलाएर सवारी आवागमनको औपचारिक सुरुवात गर्नेछन्। सुरुमा एम्बुलेन्स, सुरक्षा निकायका सवारीसाधन र अन्य अत्यावश्यक सवारी साधनलाई प्रवेश दिइनेछ।

केही दिनको परीक्षणपछि सबै वर्गका सवारीसाधनलाई सञ्चालन गर्न दिइनेछ। सुरक्षा अवस्था र ट्राफिक व्यवस्थापनको परीक्षणपश्चात् पूर्ण रूपमा सञ्चालनमा ल्याइनेछ। परीक्षण अवधिभर सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनबाट कुनै शुल्क लिइने छैन।

कुल २,६८८ मिटर लामो यो सुरुङमार्गमा सवारी सञ्चालनका लागि शुल्क निर्धारण गरिएको छ। सडक विभागका अनुसार कार र भ्यानले काठमाडौँ भित्रिँदा रु ६५ र बाहिर जाँदा रु ६० तिर्नुपर्नेछ। मिनीबस, ट्रक र टिपरले काठमाडौँ आउँदा रु ११५ र बाहिर जाँदा रु ८० शुल्क बुझाउनुपर्नेछ। ठूला बस र ट्रकले काठमाडौँ आउँदा रु २६० र बाहिर जाँदा रु २०० शुल्क तिर्नुपर्नेछ।

यद्यपि, पैदलयात्री, दुईपाङ्ग्रे र तीनपाङ्ग्रे सवारी साधनलाई सुरुङमार्गमा प्रवेश निषेध गरिएको छ। डिजेल, पेट्रोल, ग्यासजस्ता प्रज्ज्वलनशील पदार्थ बोकेका सवारीसाधन र विस्फोटक पदार्थ बोकेका सवारीलाई पनि प्रवेश दिइनेछैन।

आयोजनामा मुख्य सुरुङमार्ग र उद्धार सुरुङमार्ग गरी दुईवटा सुरुङ छन्। मुख्य सुरुङबाट सवारीसाधन सञ्चालन हुनेछ भने उद्धार कार्यका लागि छुट्टै सुरुङ प्रयोग गरिनेछ। सुरुङमार्गको निर्माण जापानको हाज्मा एन्डो कर्पोरेसनले गरेको हो।

परामर्शदाता संस्था निप्पन कोइकाका इन्जिनियर रमेशप्रसाद कोइरालाका अनुसार सुरुङमार्गमा दमकल, आकस्मिक उद्धार सामग्री, सिसीटिभी क्यामेरा, सञ्चार र सुरक्षा संयन्त्रलगायतका अत्यावश्यक सुरक्षा व्यवस्था मिलाइएको छ। अक्सिजन प्रवाह र अन्य आवश्यक सेवा पनि उपलब्ध छन्।

काठमाडौँको चन्द्रागिरि नगरपालिका–१ दहचोक टोटीपाखाबाट सुरु भई धादिङको धुनिबेँसी नगरपालिकाको सिस्नेखोलामा टुङ्गिने यो सुरुङमार्गले हालको राजमार्गमा हुने जाम, उकालो र घुमाउरो बाटोका कारण लाग्ने समयलाई करिब एक घन्टाले घटाउने अपेक्षा गरिएको छ। यसले इन्धनको बचतमा पनि योगदान पुग्नेछ।

यो आयोजनामा जापान सरकारको रु २१ अर्बबराबरको सहुलियतपूर्ण ऋण र नेपाल सरकारको रु ६ अर्ब लगानी रहेको छ। सुरुङमार्ग सञ्चालन र व्यवस्थापनका लागि व्यवसायी छनोट भई परिचालित भइसकेका छन्। सुरक्षाकर्मी र प्राविधिक कर्मचारीले नियमित अनुगमन गरिरहेका छन्।

सवारी साधनबाट शुल्क विद्युतीय माध्यमबाट भुक्तानी गर्ने व्यवस्था मिलाइएको छ। सुरुमा ४२ महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि कोरोना महामारीलगायतका कारणले आयोजना सम्पन्न हुन ढिलाइ भएको थियो।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार