NM Khabar 30 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सुनसरी तनाव मधेशभरि, चार जिल्लामा कर्फ्यु, सेना सडकमा

सुनसरीको कप्तानगञ्जमा दुई जनाको ज्यान जाने घटनापछि फैलिएको तनावका कारण चार जिल्लामा कर्फ्यु तथा निषेधाज्ञा जारी गरिएको छ। सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु भएको छ भने ठाउँ ठाउँमा आगजनी र तोडफोड भएको छ। सेनासहित सुरक्षा फौज सडकमा परिचालन गरिएको छ।
Kamala Devi
Kamala Devi
30 July 2026, 7:32 pm १ मिनेट पढाइ
आकार:
मधेश कर्फ्यु
Share:

सुनसरीको कप्तानगञ्जमा आइतबार राति दुई जनाको ज्यान जाने गरी भएको घटनापछि फैलिएको तनाव नियन्त्रणमा लिन प्रशासनले सुनसरी, सिरहा, धनुषा र पर्साका विभिन्न क्षेत्रमा कर्फ्यु तथा निषेधाज्ञा जारी गरेको छ। सेनासहित सबै सुरक्षा फौज सडकमा परिचालन गरिएको छ।

स्थानीय प्रशासनले शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले स्थानीय अवस्था हेरी विभिन्न समय र स्थानमा कर्फ्यु तथा निषेधाज्ञा लागू गरेको जनाएको छ। सुनसरीमा १० वटा स्थानीय तहमा मंगलबार रातिदेखि लगाइएको कर्फ्यु अझै पनि जारी छ।

सुनसरीको तनाव बुधबारदेखि मधेशमा सरेपछि अवस्था जटिल बनेको छ। सिरहाको गोलबजारमा गोली लागेर एक युवकको ज्यान गएको छ भने ठाउँ ठाउँमा आगजनी र तोडफोड भएको छ।

सिरहामा गोलबजार क्षेत्र (पूर्व–पश्चिम राजमार्गअन्तर्गत गोलबजार नगरपालिका–३ स्थित करसहा खोलादेखि पश्चिमतर्फ चौहर्वा चोकसम्म, उत्तरतर्फ वडा नं. ६ को सैनिक चोकदेखि दक्षिणतर्फ वडा नं. ४ को व्यायामशाला क्षेत्रसम्म) दिउँसो २ बजेदेखि अर्को सूचना नभएसम्म कर्फ्यु लगाइएको छ। लहान क्षेत्रमा (पूर्व–पश्चिम राजमार्गको पूर्वतर्फ बलान खोलादेखि पश्चिमतर्फ सरस्वती खोला, बाटिका होटल क्षेत्रसम्म, उत्तरतर्फ खुट्टी खोलादेखि दक्षिणतर्फ राजमार्गको करिब ५०० मिटर क्षेत्रसम्म) अपराह्न ४ बजेदेखि कर्फ्यु लागू गरिएको छ।

धनुषामा जनकपुर उपमहानगरपालिकाका सबै वडा, लक्ष्मीनिया गाउँपालिका र नगराइन नगरपालिकामा दिउँसो ३:३० बजेदेखि निषेधाज्ञा जारी गरिएको छ।

पर्साको वीरगन्ज महानगरपालिका अन्तर्गत प्रतिमा चोक–बसपार्क बाइपास सडकदेखि पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्मको क्षेत्रमा बिहीबार साँझ ५ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको छ।

स्थानीय प्रशासनले सर्वसाधारणलाई कर्फ्यु तथा निषेधाज्ञाको पूर्ण पालना गर्न आग्रह गर्दै अफवाहमा विश्वास नगर्न तथा शान्ति र सामाजिक सद्भाव कायम राख्न सबैसँग सहयोगको अपिल गरेको छ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार