सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन गरी कार्यान्वयनमा ल्याएको छ। पूर्वाधार विकास मन्त्रालयले ‘राष्ट्रिय यातायात नीति, २०८३’ जारी गर्दै एकीकृत यातायात प्रणालीमार्फत दिगो, सर्वसुलभ, पहुँचयोग्य, सुरक्षित, हरित तथा प्रविधिमैत्री यातायात निर्माण गर्ने लक्ष्य लिएको छ।
नयाँ नीतिले सडक, रेल, जलमार्ग र हवाई यातायातबीच समन्वय कायम गर्दै आधुनिक तथा प्रभावकारी प्रणाली विकासलाई प्राथमिकता दिएको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालका अनुसार सार्वजनिक यातायातको गुणस्तर सुधार, सडक सुरक्षा अभिवृद्धि, वातावरणमैत्री प्रविधिको प्रयोग तथा डिजिटल प्रणाली विस्तारमा नीतिले जोड दिएको छ।
बदलिँदो प्रविधि, बढ्दो सहरीकरण, जलवायु परिवर्तन र दिगो विकासका लक्ष्यलाई मध्यनजर गरी यस नीतिलाई परिमार्जन गरिएको हो।
