सर्लाहीको मलंगवास्थित श्रीमती कृष्णादेवी जनता माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक विन्देश्वर यादव र शिक्षक प्रियंका कुमारी सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
विद्यालयमा अनुपस्थित शिक्षकको फर्जी हाजिरी बनाएर गैरकानुनी रूपमा तलब निकासा गरी सरकारी रकम हिनामिना गरेको अभियोगमा अख्तियारले मङ्गलबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।
अख्तियारले दुवैजनासँग जनही ३ लाख ७१ हजार ३६ रुपैयाँ १० पैसा बिगो कायम गरी सजायको मागदाबी गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।
शिक्षक सिंह वि.सं. २०७९ वैशाखदेखि कात्तिक १८ गतेसम्म विद्यालयमा निरन्तर अनुपस्थित थिइन्।
तत्कालीन प्रअ यादवले हाजिरी रजिष्टर खाली राखे। शिक्षक विद्यालय फर्केपछि एकमुष्ठ हाजिरी गराइयो। पछि उक्त हाजिरीमा टिपेक्स लगाई सच्याएर पुनः हाजिर गराइएको अनुसन्धानबाट खुलेको छ।
प्रअ यादवले सोही फर्जी हाजिरी र विदाको अभिलेखका आधारमा मलंगवा नगरपालिकाबाट गैरकानुनी रूपमा छुट तलब निकासा गराए।
अनुसन्धानका क्रममा शिक्षक सिंह अनुपस्थित रहेको अवधि २०७९ साउनदेखि कात्तिकसम्मको २ लाख ४० हजार ९१४ र वैशाख, जेठ तथा असार महिनाको १ लाख ३० हजार १२१ गरी कुल ३ लाख ७१ हजार ३६ रुपैयाँ गैरकानुनी रूपमा भुक्तानी लिएको र दिएको पुष्टि भएको छ।
सरकारी कागजात सच्याएर सरकारी रकम हिनामिना, हानि(नोक्सानी तथा दुरुपयोग गरेको पुष्टि भएकाले प्रतिवादीहरू यादव र सिंहविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ र दफा १७ बमोजिमको कसुरमा मुद्दा दायर गरिएको हो।
उनीहरूबाट हिनामिना भएको बिगो ३ लाख ७१ हजार ३६ रुपैयाँ असुल उपर गरी ऐनबमोजिम कैद र जरिवाना सजाय गर्न अख्तियारले मागदाबी गरेको छ।
