धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले नयाँ मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गरेका छन्। प्रदेश प्रमुखको कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार शाहको राजीनामा २०८३ साउन २८ गतेदेखि लागू हुने गरी स्वीकृत भएको छ।
संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा नियुक्त गरिनेछ। यस प्रयोजनका लागि दाबी पेस गर्न इच्छुक सदस्यले २०८३ साउन २९ गते शुक्रबार बिहान ११ बजेभित्र प्रदेश प्रमुखसमक्ष बहुमतको आधारसहित दाबी पेस गर्नुपर्नेछ।
यसअघि नेकपा एमाले र नेकपाले सरकार गठनमा सहकार्य गर्दै नेकपालाई मुख्यमन्त्री दिने सहमति गरेका छन्। यससँगै सुदूरपश्चिममा नयाँ सरकार गठनको प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ।
