गण्डकी प्रदेशका ११ मध्ये ९ जिल्लामा डेङ्गीको सङ्क्रमण फैलिएको छ। प्रादेशिक रोग नियन्त्रण केन्द्रका अनुसार गत मङ्गलबारसम्म प्रदेशभर ८३९ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ।
सङ्क्रमण सबैभन्दा बढी बागलुङमा ३६६ र कास्कीमा २२२ जनामा देखिएको छ। यस्तै गोरखामा ९९, तनहुँमा ६४, म्याग्दीमा ३३, पर्वतमा २१, लमजुङमा १७, स्याङ्जामा १३ र नवलपुरमा ४ जना सङ्क्रमित भेटिएका छन्।
हिमालपारिका जिल्ला मुस्ताङ र मनाङमा भने हालसम्म सङ्क्रमित नभेटिएको केन्द्रकी जनस्वास्थ्य अधिकृत पार्वती ढुङ्गानाले जानकारी दिइन्।
सङ्क्रमितमध्ये अधिकांश बागलुङ नगरपालिका (३५९ जना) र पोखरा महानगरपालिका (२१३ जना) का रहेका छन्। जुलाई महिनायता सङ्क्रमण तीव्र रूपमा फैलिएको हो।
सङ्क्रमण नियन्त्रणका लागि बागलुङ र कास्की लगायतका जिल्लामा लामखुट्टेको बासस्थान नष्ट गर्ने ‘खोज र नष्ट गर’ अभियान सुरु गरिएको प्रदेश जनस्वास्थ्य कार्यालय, बागलुङका प्रमुख प्रवीण शर्माले बताए।
असारदेखि कात्तिकसम्म डेङ्गीको जोखिम बढी हुने भएकाले घर, कार्यालय र सार्वजनिकस्थलमा पानी जम्न नदिन चिकित्सकहरूले सुझाव दिएका छन्।
सफा पानीमा फुल पार्ने र दिनमा मात्र टोक्ने ‘एडिस एजिप्टाई’ जातको लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउन र घरवरिपरि सरसफाइमा ध्यान दिन स्वास्थ्य अधिकारीहरूले आग्रह गरेका छन्।
