विराटनगर । कोशी प्रदेश सरकार विस्तारको तयारी भइरहँदा सत्तारूढ नेकपा (माओवादी केन्द्र) को प्रदेश संसदीय दलमा मन्त्री बन्नका लागि सांसदहरूको तीव्र दाबी प्रस्तुत भएको छ। १७ जना सांसदमध्ये १५ जनाले आफू मन्त्री बन्नुपर्ने भन्दै दलका नेता इन्द्रबहादुर आङ्बो समक्ष धारणा राखेका छन्।
मोरङको कटहरीस्थित प्रदेशसभा सचिवालयमा झण्डै तीन घण्टा बसेको बैठकमा सांसदहरूले सरकारमा सहभागी हुने मन्त्री छनोट गर्दा समावेशी र भौगोलिक सन्तुलन मिलाउनुपर्ने सुझाव दिएका थिए। दलका नेता आङ्बोका अनुसार, सांसदहरूले मन्त्रीमा आफ्नो दाबी प्रस्तुत गरे पनि सरकारमा साधन स्रोतको समान वितरण हुनुपर्नेमा जोड दिएका छन्।
‘जो मन्त्री हुन्छ, उसको मात्रै हालीमुहाली नहोस्। जसको हातमा लट्ठी उसैको भैंसी भने जस्तो नभई सरकारमा सिंगो पार्टी र दलले स्वामित्व लिन सक्ने वातावरण बनोस् भन्ने साथीहरूको सुझाव छ,’ आङ्बोले बैठकको निष्कर्ष सुनाउँदै भने। पार्टीको स्थापित समावेशी सिद्धान्त, भौगोलिक र जनसंख्याको सन्तुलनलाई ध्यानमा राखी मन्त्री पठाउनुपर्ने माग सांसदहरूको थियो।
यसैबीच, कोशी प्रदेशमा आफ्नो पार्टीले मुख्यमन्त्री नपाएकोमा दलका सदस्यहरूले असन्तुष्टि व्यक्त गरेका छन्। नेकपाका प्रदेश इन्चार्ज राजेन्द्र राईले कतिपय माननीयज्यूहरूले स्तब्धता र कतिपयले आक्रोशसमेत व्यक्त गरेको बताए। यद्यपि, पार्टीले गर्ने उपयुक्त निर्णयलाई सबैले पालना गर्ने प्रतिबद्धतासमेत सांसदहरूले जनाएका छन्।
मन्त्री र मन्त्रालयको अन्तिम टुंगो सोमबार दिउँसोसम्ममा लाग्ने आङ्बोले जानकारी दिए। ‘अब पर्सि (सोमबार) सम्म समय छ। हाम्रो पार्टी प्रदेश कार्यालय टोली र संसदीय दल बसेर मन्त्री पठाउने विषयमा उपयुक्त निर्णय गर्नेछ। नेकपा एमालेसँग मन्त्रालय बाँडफाँडको विषय पनि सोमबार नै टुंगिनेछ,’ उनले भने।
साउन ९ गते नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच भएको तीन बुँदे सहमति अनुसार कोशी प्रदेशमा सरकार विस्तार सोमबार गर्ने तयारी छ। दुई पार्टीबीच मुख्यमन्त्री बाहेक ४-४ मन्त्रालय लिने सहमति भए पनि मन्त्रालयको विषयमा भने सहमति जुट्न बाँकी छ।
यता, ४ मन्त्रालय पाउने भएपछि नेकपामा यसअघि मन्त्री बनिसकेकालाई पठाउने कि नयाँलाई पठाउने भन्ने विषयमा संसदीय दलमा तीव्र ध्रुवीकरण देखिएको छ। केही सांसदले मन्त्री बन्न नपाए हस्ताक्षर अभियान चलाउने चेतावनी दिएका थिए भने मन्त्री बनिसकेकाहरूले बहुमतको आधारमा निर्णय हुने बताएका थिए।
तत्कालीन नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) मिलेर बनेको नेकपामा १७ सांसद छन्। जसमध्ये पूर्व माओवादीबाट १३ र समाजवादीका ४ सांसद छन्। पूर्व समाजवादी समूहबाट विद्या चाम्लिङ, राजेन्द्र राई, कमलप्रसाद जबेगू र खिनु लङ्वा लिम्बू सांसद छन्। राई पूर्व मुख्यमन्त्री हुन् भने जबेगू र लिम्बू यसअघि मन्त्री बनिसकेका छन्।
यता, पूर्व माओवादी खेमाबाट दलका नेता आङ्बोले मन्त्रीको दाबी नगरेको बताइएको छ। उनीबाहेक जीवन आचार्य, गणेश उप्रेती, दुर्गा चापागाईं, राजेन्द्र कार्की, बाबुराम गौतम, नारायण बुर्जा मगर तथा राज्यमन्त्री बन्दना झाँगडले पनि पुनः मन्त्री बन्नुपर्ने बताएका छन्। प्रत्यक्ष निर्वाचितमध्ये गोम्बु शेर्पा र राजेन्द्र किराँती मन्त्री बनेका छैनन् भने समानुपातिकतर्फबाट विद्या चाम्लिङ, गीता तिम्सिना, सम्झना तामाङ र सपना दर्जीले अवसर पाएका छैनन्।
कोशी प्रदेश सरकार र मन्त्री चयनबारे शीर्ष नेताहरूसँग छलफल गर्न पुगेको नेकपा कोशी प्रदेशका इन्चार्ज राजेन्द्रकुमार राई र संयोजक हर्कबहादुर नेम्वाङ (मिक्सो)सहितको टोलीले पार्टीका संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपालसँग काठमाडौंमा छलफल गरेको थियो।
