वर्षा र पहिरोले देशभरका मुख्य सडकहरू अवरुद्ध पारेको छ। सुरक्षा जोखिमका कारण केही सडकमा रात्रिकालीन सवारीसाधन चलाउन रोक लगाइएको छ।
नेपाल प्रहरीका अनुसार, बीपी राजमार्गको खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी खण्डमा बाढीको सम्भावित जोखिमले बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सवारीसाधन बन्द गरिएको छ। बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने यो खण्डमा सवारी सुचारु हुनेछन्।
मकवानपुरको कान्ति लोकपथमा वर्षाले बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म रात्रिकालीन यात्रा रोकेको छ। नुवाकोटको टोखा-छहरे सडक खण्डमा राति १० बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक सेवाबाहेक सबै सवारीसाधनको आवागमन बन्द छ।
इलामको राजदुवालीस्थित मेची राजमार्ग हिलोका कारण अवरुद्ध छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ स्थित इकु पहिरोमा लेदो खसेको र लिपिङ क्षेत्रमा सडक भासिएकाले अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ।
रसुवाको उत्तरगया गाउँपालिका-५, खाल्टेमा त्रिशूली नदीले सडक कटान गरेपछि पासाङ ल्हामु सडक खण्ड बन्द भएको छ। रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-६, रिजेगार्ड खोलास्थित भेरी करिडोरमा लेदो खसेर यातायात अवरुद्ध छ।
संखुवासभाको भोटखोला गाउँपालिका-३, सिरेक डाँडास्थित खाँदबारी-किमाथांका सडक खण्डमा करिब १० मिटर सडक भासिएको छ। लमजुङको मर्स्याङ्दी गाउँपालिका-४, रामबजारमा पहिरोले बेँसीशहर-मनाङ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध पारेको छ।
