सिराहामा दुई समुदायबीचको तनाव नियन्त्रण गर्ने क्रममा प्रहरीको गोलीबाट १५ वर्षीय गणेश यादवको मृत्यु भएको निष्कर्ष सरकारी छानबिन समितिले निकालेको छ। सहसचिव पुष्पराज शाहीको नेतृत्वमा गठित समितिले सीसीटीभी फुटेज, प्रत्यक्षदर्शीको बयान र पोस्टमार्टम तथा ब्यालेस्टिक परीक्षणका आधारमा प्रहरीको गोलीबाटै यादवको ज्यान गएको पुष्टि गरेको हो।
समितिले घटनामा संलग्न सुरक्षाकर्मीमाथि कारबाही गर्न सिफारिस गरे पनि कसलाई कस्तो कारबाही गर्ने भन्नेबारे प्रतिवेदनमा स्पष्ट उल्लेख छैन। कोशी प्रदेशको सुनसरीको देवानगञ्जमा सुरु भएको दुई समुदायबीचको झडप मधेश प्रदेशका विभिन्न जिल्लामा फैलिएको थियो। साउन १४ गते सिराहामा तनाव हुँदा गणेश यादवको मृत्यु भएको थियो।
घटनापछि सेना, प्रहरी वा सशस्त्र प्रहरी कसको गोली लागेर मृत्यु भएको भन्ने विवाद थियो। सुरक्षाकर्मीले हवाई फायर भएको स्वीकार गरे पनि गोलीको जिम्मेवारी कसैले लिएका थिएनन्। घटनास्थलको प्रमाण र प्रत्यक्षदर्शीको बयानले प्रहरीतर्फबाट गोली चलेको देखाएको छ। पोस्टमार्टम र ब्यालेस्टिक परीक्षणले पनि पेस्तोलबाट प्रहार भएको गोलीका कारण मृत्यु भएको देखाएको छ।
नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाका विज्ञसमेतको सहभागितामा गोलीको स्रोत परीक्षण गरिएको थियो। घटनास्थलमा अन्यत्रबाट गोली चलेको प्रमाण नदेखिएको समितिले जनाएको छ। सिराहामा प्रहरी र सशस्त्र प्रहरीले २० राउण्ड हवाई फायर गरेको बताइए पनि गोली कसको चलेको भन्ने स्पष्ट नहुँदा अनुसन्धान जटिल बनेको थियो।
प्रधानमन्त्री बालेन्द्र साह र गृहमन्त्री सुधन गुरुङले घटनाको सत्यतथ्य पत्ता लगाउन निर्देशन दिएका थिए। गोली कसले चलाएको भन्ने अन्योलले थप दुई प्रहरी अधिकारीलाई ब्यालेस्टिक तथा फरेन्सिक परीक्षणको जिम्मेवारी दिइएको थियो। समितिमा प्रहरी निरीक्षक दीपेश अवस्थी र प्रहरी उपरीक्षक मनोहरसिंह धामी सदस्य थिए। यसअघि एसपी मोहनकुमार थापा, एसपी नरेश भण्डारी, डीएसपी पवनकुमार ढुंगाना र उपसचिव कुलशेखर अर्याल सदस्य थिए।
समितिले प्राविधिक परीक्षण, भिडियो, सीसीटीभी, प्रत्यक्षदर्शीको बयान र अन्य प्रमाण अध्ययन गरी निष्कर्ष निकालेको हो। सुरक्षाकर्मीहरू कारबाहीको डरले जिम्मेवारी लिन हिच्किचाएको पाइएको छ। समितिले पेस्तोल बोकेका अधिकारीहरूको भूमिकामाथि प्रश्न उठाउँदै कारबाही गर्न सिफारिस गरेको छ। गोली चलाउने क्रममा कमान्ड र परिचालन निर्णयलाई पनि गम्भीरतापूर्वक हेरिएको छ।
भविष्यमा यस्ता घटना दोहोरिन नदिन भिड नियन्त्रणमा गैरघातक हतियारको प्रयोगलाई प्राथमिकता दिन समितिले सुझाव दिएको छ। घातक हतियार प्रयोग गर्नुअघि गैरघातक विकल्पको अधिकतम प्रयोग गर्नुपर्ने र गोली चलाउने निर्णयको अधिकार फिल्ड कमान्डरलाई स्पष्ट रूपमा दिनुपर्ने भनिएको छ। प्रमुख जिल्ला अधिकारीसँग अधिकार भए पनि फिल्डमा नखटिँदा सुरक्षाकर्मी र प्रशासनबीच समन्वयमा समस्या देखिएको समितिको ठहर छ। फिल्डमा परिचालित सुरक्षा निकायलाई निश्चित जिम्मेवारी र अधिकार दिएर जवाफदेही बनाउनुपर्ने सुझाव प्रतिवेदनमा छ।
मधेशमा तनाव चर्किनुअघि साउन १० गते राति सुनसरीको देवानगञ्ज–४ मा दुई समुदायबीच झडप भएको थियो। प्रहरी टोलीमाथि आक्रमण भएपछि पछि हटेको प्रहरीको ठाउँमा पुगेको सशस्त्र प्रहरीले २० राउण्ड फायर गरेको थियो। उक्त घटनामा ३० वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो भने नौ जना घाइते भएका थिए। उपचारका क्रममा थप दुई जनाको मृत्यु भएको थियो। सुनसरीको घटनाले मधेशका विभिन्न क्षेत्रमा आक्रोश बढाएको थियो।
