तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा बाराको जीतपुरसिमरामा स्थानीयले ७ घण्टा वीरगंज–पथलैया सडकखण्ड अवरुद्ध पारेका छन्। मंगलबार साँझ बालिकाको शव भेटिएपछि आक्रोशित भीडले सडक बन्द गराएको हो।
स्थानीयको आरोप छ, प्रहरीलाई बालिका हराएको सूचना समयमै दिँदा पनि खोजीमा चासो दिइएन। यसले घटना हुन पुग्यो। उनीहरुले सिमरा प्रहरीको नेतृत्व परिवर्तनको माग राखेका छन्। प्रहरीले बालिका हराएको तीन दिनसम्म खोजी नगरेको र परिवारले किटानी जाहेरी दिएका व्यक्तिहरूलाई अनुसन्धानको दायरामा नल्याएको आरोप लगाएका छन्।
प्रहरीले शव भेटिएपछि दुई जनालाई पक्राउ गरेको छ। परिवारले शव भेटिनु अघि नै सोही दुई जना विरुद्ध किटानी जाहेरी दिएका थिए। सडक अवरुद्ध हुँदा सयौं गाडी र यात्रु अलपत्र परेका छन्।
बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराई र एसपी नरेन्द्र कुँवर लगायतका सुरक्षा अधिकारी घटनास्थल पुगेर स्थानीयसँग छलफल गरिरहेका छन्। तर, दोषी प्रहरीलाई कारबाही नगरेसम्म आन्दोलन नछाड्ने अडान स्थानीयले लिएका छन्।
प्रहरीको प्रारम्भिक अनुसन्धानले बालिकालाई चकलेटको प्रलोभन देखाएर सुनसान स्थानमा लगेर बलात्कारपछि हत्या गरिएको खुलेको छ। पक्राउ परेकामध्ये एकजना १६ वर्षीय किशोर र अर्का २४ वर्षीय म्याजिकका धनी प्रोग्रेस चौधरी रहेका छन्। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।
