सप्तरीका दुई र कैलालीका दुई गरी चार जनाको जापानिज इन्सेफ्लाइटिस (JE) बाट मृत्यु भएको छ। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-१ का ७४ वर्षीय सत्यनारायण यादव र राजगढ गाउँपालिका-३ का १४ वर्षीय शिवकुमार रामको गत साउन २१ गते उपचारका क्रममा मृत्यु भएको थियो। स्वास्थ्य अधिकृत शतिश यादवका अनुसार यादवको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा र रामको गोल्डेन हस्पिटल विराटनगरमा उपचारका क्रममा ज्यान गएको हो। जिल्लामा अन्य तीन जना बिरामी भए पनि उपचारपछि घर फर्किसकेका छन्।
कैलालीको घोडाघोडी नगरपालिकामा पनि सोही रोगका कारण ३४ र ७० वर्षीया दुई महिलाको मृत्यु भएको छ। नगरपालिकाका सिनियर अहेब मानबहादुर बोहराका अनुसार घोडाघोडीमा पछिल्लो तीन वर्षयता यो रोगका बिरामी देखिन थालेका हुन्। आर्थिक वर्ष २०८१-८२ मा दुई जनामा संक्रमण देखिएको थियो भने यस वर्ष दुई जनाको मृत्यु भएको छ।
जापानी इन्सेफ्लाइटिस क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। सङ्क्रमित सुँगुर वा बङ्गुरलाई टोकेको लामखुट्टेले मानिसलाई टोक्दा यो भाइरस सर्न सक्ने स्वास्थ्य अधिकारीहरूले बताएका छन्। यसबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिनु र घर वरिपरि सरसफाइमा विशेष ध्यान दिनुपर्ने उनीहरूको भनाइ छ।
स्वास्थ्य अधिकृत यादवले साँझपख घर बाहिर ननिस्कने, खेतबारीमा काम गर्दा लामो बाउला भएका लुगा लगाउने र सुत्ने बेला झुलको प्रयोग गर्नेजस्ता उपाय अपनाउन सुझाएका छन्। सिनियर अहेब बोहराले पनि लामखुट्टेको टोकाइबाट बच्न झुल प्रयोग गर्न, घर वरिपरि पानी जम्न नदिन र सरसफाइमा ध्यान दिन आग्रह गरेका छन्।
घोडाघोडी नगरपालिकाले रोगको रोकथामका लागि आकस्मिक बैठक बसी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। नगरपालिकाका १३ वटै स्वास्थ्य संस्थामार्फत र ८४ वटा आमा समूहलाई परिचालन गरी रोगका लक्षण, बच्ने उपाय र समयमै उपचारका लागि स्वास्थ्य संस्था पुग्नुपर्ने विषयमा जानकारी गराइनेछ। अत्यधिक ज्वरो आउने वा बेहोस हुनेजस्ता लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा पुर्याउन आग्रह गरिएको छ।
