बाराको सिमरामा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा पीडित परिवारले १० जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय कलैयामा किटानी जाहेरी दर्ता गराएको छ।
मृतक बालिकाका बुवा मनोज चौधरीले शनिबार किटानी जाहेरी दर्ता गराएका हुन्। बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले पीडित परिवारबाट ८ देखि १० जनाविरुद्ध पूरक जाहेरी आएको बताए।
घटनामा संलग्न आरोपमा प्रहरीले हालसम्म चार जनालाई नियन्त्रणमा लिएको छ। जीतपुरसिमरा-२ का १६ वर्षीय सुमन थापा र २४ वर्षीय प्रोग्रेस चौधरी पक्राउ परिसकेका छन्। थप दुई जनाको नाम प्रहरीले गोप्य राखेको छ।
दोषीलाई मृत्युदण्डको माग गर्दै राजमार्ग अवरुद्ध
दोषीलाई मृत्युदण्डको सजाय हुनुपर्ने माग गर्दै पीडित परिवार र स्थानीय बासिन्दाले शनिबार पूर्व-पश्चिम महेन्द्र राजमार्गको पथलैया चोक पूर्ण रूपमा अवरुद्ध पारेका छन्।
चर्को घाममा छाता ओढेर सडकमा उत्रिएका प्रदर्शनकारीका कारण राजमार्ग ठप्प भएको छ। काठमाडौं-वीरगन्ज आवतजावत गर्ने सवारीसाधन पूर्ण रूपमा रोकिएका छन्।
राजमार्ग खुलाउन प्रदर्शनकारीसँग संवादको प्रयास भइरहेको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख डीएसपी दयाकृष्ण भट्टले जानकारी दिए।
पाँच दिनदेखि आन्दोलन जारी छ। संघीय सरकारका जिम्मेवार मन्त्रीहरू घटनास्थलमा नआएको भन्दै स्थानीय आक्रोशित छन्। वीरगन्ज-पथलैया व्यापारिक मार्गअन्तर्गत सिमरामा प्रदर्शन गर्दै आएका उनीहरूले शनिबारदेखि आन्दोलन पथलैया केन्द्रित गरेका हुन्।
आन्दोलनकारीले प्रधानमन्त्री, गृहमन्त्री वा कानुनमन्त्रीमध्ये कम्तीमा एक जना घटनास्थलमा आएर निष्पक्ष छानबिनको प्रतिबद्धता नजनाएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।
सडक अवरोधका कारण सयौं यात्रु तथा मालवाहक सवारीसाधन अलपत्र परेका छन्।
