बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले विश्वासको मत लिने तयारी गर्दा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र आन्तरिक विवाद चर्किएको छ। मंगलबार प्रदेशसभा बैठकबाट विश्वासको मत लिने प्रयोजनका लागि दिउँसो १ बजे बैठक आह्वान गरिए पनि नेकपाको संसदीय दलभित्रको विवादले यसलाई जटिल बनाएको छ।
मुख्यमन्त्री थापाले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको संसदीय दलको बैठकमा १३ सांसद अनुपस्थित भएका छन्। सरकार गठन, मन्त्री छनोट, पावर सेयरिङ र सांसदहरूको भूमिकामाथिको हस्तक्षेपलाई लिएर असन्तुष्ट सांसदहरूले बैठक बहिष्कार गरेका हुन्।
आइतबार दिउँसो १ बजे बोलाइएको संसदीय दलको बैठकमा नेकपाका २६ जना प्रदेशसभा सदस्यमध्ये १३ जना मात्र उपस्थित थिए। यसले पार्टीभित्र ठूलो असन्तुष्टि रहेको स्पष्ट पारेको छ।
असन्तुष्ट सांसदहरूले संसदीय दलका नेताको एकलौटी निर्णय गर्ने शैली, मन्त्री चयनमा भएको एकलौटीपन र सरकार गठन प्रक्रियामा अपनाइएको असंवैधानिक तरिकाप्रति गम्भीर आपत्ति जनाएका छन्। तत्कालीन एकीकृत समाजवादीका सांसदहरू र नेकपाका अन्य १३ जना सांसद बैठकमा अनुपस्थित थिए।
‘राजनीतिक र व्यवहारिक पक्षमा हाम्रो असहमति छ। सरकार गठनका क्रममा राप्रपाभित्र विग्रह गराइएको र पार्टीलाई विभाजनको अवस्थामा पुर्याइएको छ। यो राजनीतिक नैतिकताको विषय होइन,’ एक असन्तुष्ट नेताले भने। उनले सरकार गठनका सन्दर्भमा दलहरूबिच पर्याप्त छलफल नगरी हतारमा अघि बढेको र यसले पार्टीको छविमा आँच पुर्याएको आरोप लगाए।
मुख्यमन्त्री तथा संसदीय दलका नेताले मन्त्री छनोट गर्दा संसदीय दलमा कुनै छलफल नगरेको र अनुभवी सदस्यहरूलाई उपेक्षा गरी शक्ति बाँडफाँड गरेको अर्का सांसदको आरोप छ। विगतका ३ बुँदे र ५ बुँदे सहमतिहरूको कार्यान्वयनमा नेतृत्वले बेवास्ता गरेको र ती सहमतिका सैद्धान्तिक तथा वैचारिक पक्षमा स्पष्टता नआएको असन्तुष्ट पक्षको भनाइ छ।
उनीहरूले संसदीय दलको घेराभन्दा बाहिर गएर पार्टीको केन्द्रीय शीर्ष नेतृत्वसँग सिधै छलफल गर्नुपर्ने र त्यहाँबाटै समस्याको समाधान खोजिनुपर्ने माग गरेका छन्।
मुख्यमन्त्री थापा मगरले मंगलबार प्रदेशसभाबाट विश्वासको मत लिने कार्यतालिका छ। नेकपाका १३ सांसद रुष्ट हुँदा थप जटिलता देखिएको छ। यस विवादका बीच नेकपाले मुख्यमन्त्री थापाको विश्वासको मतको पक्षमा मतदान गर्न ह्विप जारी गर्ने तयारी गरेको छ।
‘केवल ह्विप जारी गरेर मात्रै परिस्थिति सहज हुँदैन। नेतृत्वले पहिले छलफलको वातावरण बनाउनुपर्छ र हाम्रा मागहरूको सम्बोधन गर्नुपर्छ,’ एक सांसदले भने। ‘तत्कालीन समाजवादी पक्ष र अन्य असन्तुष्ट धारहरू एकजुट हुने अवस्था बनेको छ।’
