NM Khabar 2 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

कांग्रेस देउवा समूहद्वारा मंसिर २१ देखि महाधिवेशनको प्रस्ताव

• नेपाली कांग्रेसको देउवा समूहले पार्टीको १५औँ महाधिवेशन मंसिर २१-२३ गते गर्ने प्रस्ताव गरेको छ। • वडा अधिवेशन असोज १५, पालिका अधिवेशन असोज २० मा गर्ने गरी कार्यतालिका प्रस्तावित छ। • क्रियाशील सदस्यताको टुंगो असोज ९ गतेभित्र लगाइनेछ।
Laxmi Bhattarai
Laxmi Bhattarai
2 September 2026, 4:03 pm १ मिनेट पढाइ
आकार:
कांग्रेस महाधिवेशन
Share:

शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस समूहले पार्टीको १५औँ महाधिवेशन मंसिर २१ देखि २३ गतेसम्म गर्ने प्रस्ताव गरेको छ। बुधबार बसेको देउवा समूहको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिको दोस्रो बैठकले महाधिवेशनसहित वडा तहसम्मका अधिवेशनको प्रस्तावित कार्यतालिका तय गरेको हो।

समितिले भदौ १८ गतेभित्र केन्द्रीय निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन तथा व्यवस्थापन समिति, विधान संशोधन समिति र अनुशासन समिति गठन गर्ने प्रस्ताव गरेको छ। महिला संघ, नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल दलित संघ र आदिवासी जनजाति महासंघका तदर्थ समिति गठनको प्रस्ताव पनि बैठकले गरेको छ।

७७ जिल्लामा जिल्ला अधिवेशन तयारी समिति गठनका लागि केन्द्रीय प्रतिनिधि तोक्ने निर्णय प्रस्ताव गरिएको छ। यी प्रतिनिधिले भदौ २० गतेभित्र जिल्लामा पुगेर भदौ २५ गतेभित्र जिल्ला अधिवेशन तयारी समिति गठन गरिसक्नुपर्नेछ। संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रका क्षेत्रीय अधिवेशन तयारी समिति भदौ २८ गतेभित्र गठन गरिनेछ। पालिका र वडा अधिवेशन तयारी समिति असोज ३ गतेभित्र गठन गरिसक्नुपर्ने प्रस्ताव छ।

क्रियाशील सदस्यताको टुंगो असोज ९ गतेभित्र लगाउने प्रस्ताव छ। १४औँ महाधिवेशनका सबै क्रियाशील सदस्यलाई १५औँ महाधिवेशनमा सहभागी गराइनेछ। २०८२ पुस १० गतेभित्र क्रियाशील सदस्यता नवीकरण गरेका वा नयाँ सदस्यताका लागि फारम भरेकालाई पनि अधिवेशनमा सहभागी गराइनेछ। क्रियाशील सदस्यता विवादको अन्तिम निर्णय छानबिन समितिले गर्नेछ।

प्रस्तावित कार्यतालिका अनुसार वडा अधिवेशन असोज १५ गते, पालिका अधिवेशन असोज २० गते, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन असोज २३ गते गरिनेछ। जिल्ला अधिवेशन कात्तिक १५ गते, प्रदेश अधिवेशन मंसिर ४ गते र केन्द्रीय महाधिवेशन मंसिर २१, २२ र २३ गते गर्ने प्रस्ताव छ।

बैठकले प्रदेशसभा तथा स्थानीय तहका विभिन्न पदका लागि सम्भावित उम्मेदवारको नामावली संकलन र छनोट प्रक्रिया अघि बढाउने प्रस्ताव गरेको छ।

समितिले रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ। प्रभावितहरूको खोजी, उद्धार, राहत, सुरक्षित आवास, क्षतिपूर्ति र पुनर्स्थापनाको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइएको छ। विपद्को अवस्थामा सहयोगका लागि राजनीतिक दल, संघसंस्था, निजी क्षेत्र, मित्रराष्ट्र, अन्तर्राष्ट्रिय समुदाय तथा दातृ निकायसँग अपिल गरिएको छ।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार