NM Khabar 4 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

देशभर बाढी-पहिरो: मुख्य राजमार्ग अवरुद्ध, यातायात ठप्प

बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध पारेको छ। काठमाडौं-धादिङ, पृथ्वी राजमार्ग, पासाङल्हामु सडक, त्रिशूली मैलुङ स्याफ्रुबेसी सडक, मुगु-गमगढी सडक, सालझण्डी-ढोरपाटन सडक खण्डहरू पूर्ण वा आंशिक रूपमा बन्द छन्।
Sanjay Karki
Sanjay Karki
4 September 2026, 7:33 am १ मिनेट पढाइ
आकार:
राजमार्ग अवरुद्ध
Share:

काठमाडौं-धादिङ सडकमा पहिरो खस्दा यातायात ठप्प भएको छ। शुक्रबार बिहान ६:३० बजेसम्मको प्रहरी विवरण अनुसार उपत्यका, बागमती, कर्णाली र लुम्बिनी प्रदेशका सडक खण्डहरू पूर्ण रूपमा बन्द छन्।

काठमाडौँको चन्द्रागिरीमा पहिरो गएपछि काठमाडौं-धादिङ सडक एकतर्फी मात्र सञ्चालनमा छ। धादिङको बेनीघाट रोराङ–७ स्थित कृष्ण भिरमा पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। धादिङकै गजुरी–२ परेवा भिरमा सानो गाडी मात्र एक लेनमा सुचारु छ। झ्यादुखोला र कमेरेभिरमा सडक एकतर्फी मात्र खुलेको छ।

नुवाकोटको बेलकोटगढी–१० सिमिटारमा बाढीले पासाङल्हामु सडक खण्ड पूर्ण रूपमा अवरुद्ध पारेको छ। रसुवाको उत्तरगया–५ खाल्टेमा बाढीले त्रिशूली मैलुङ स्याफ्रुबेसी सडक खण्ड लामो समयदेखि बन्द छ। रसुवाका अन्य मुख्य राजमार्गहरू पनि पूर्ण बन्द छन्।

रोल्पाको शहीदमार्गका विभिन्न ठाउँमा पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध छ। अर्घाखाँचीको पाणिनी–२ बालसिद्ध मन्दिर नजिकै पहिरो खस्दा सालझण्डी–ढोरपाटन सडक खण्ड पनि पूर्ण रूपमा बन्द छ।

मुगुको छायाँनाथ रारा नगरपालिका–४ ताल्चामा पहिरो गएका कारण मुगु–गमगढी सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले Nmkhabarलाई पुष्टि गर्‍यो।

काभ्रेको विपी राजमार्ग अन्तर्गत खुर्कोट–नेपालथोक–कटुञ्जेबेंसी खण्डमा बाढीको जोखिम छ। साँझ ७:०० बजेदेखि बिहान ५:०० बजेसम्म १० टनसम्मका सवारी मात्र चल्न पाउनेछन्। बिहान ४:०० देखि साँझ ६:०० बजेसम्म सवारी साधन छोडिने व्यवस्था छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार