रसुवा र नुवाकोटका १२ जलविद्युत् आयोजनामा भोटेकोशी बाढीले क्षति पुर्याएको छ। दशौँ दिनसम्म पनि सयौँ कर्मचारी तथा श्रमिकको अवस्था अज्ञात छ। सुरुङ, भूमिगत विद्युत् गृह, कार्यालय र आवास क्षेत्रमा फसेकाहरूको खोजी जारी छ।
नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट २१६ घण्टापछि नेपाल विद्युत् प्राधिकरणका दुई कर्मचारीको जीवित उद्धार भएको छ। मेकानिकल फोरम्यान सञ्जय शाह र सुपरभाइजर कबीर महर्जनको स्वास्थ्य अवस्था सामान्य छ। उनीहरूको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार भइरहेको छ। सुरुङबाट एक शवसमेत निकालिएको छ।
त्रिशूली–३ ‘ए’ मा ९३ जनाको उद्धार टोली परिचालन छ। नेपाली सेनाको टोली पावर हाउसतर्फ प्रवेश गरेको छ। पाँच एस्काभेटर, कम्प्रेसर र ब्रेकर प्रयोग गरी लेदो, ढुंगा र बालुवा हटाउँदै टोली ३० मिटर सुरुङभित्र पसेको छ। ठूलो ढुंगा ब्लास्टिङ गरी बाटो खुलाइएको छ।
त्रिशूली–३ ‘ए’ मा ४२ जना सम्पर्कविहीन थिए। दुईको जीवित उद्धार र एकको शव फेला परेको छ। ३९ जना अझै बेपत्ता छन्।
निर्माणाधीन माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजनामा उपकरण र बाटो व्यवस्थापन चुनौती छ। नेपाली सेनाका ८९ जनासहितको टोलीले आयोजनाको कार्यालय र आवास क्षेत्र पहिचान गरेको छ। बाढीले बाटो तहसनहस पारेकाले एस्काभेटरले बाटो खन्ने काम भइरहेको छ।
आयोजनाकी उपनिर्देशक लिला अर्यालका अनुसार तीन एस्काभेटरले काम गरिरहेका छन्। साना एस्काभेटरले गति लिन सकेको छैन। ठूलो एस्काभेटर पुर्याउन डाँडा काट्ने काम भइरहेको छ। त्रिशूली–३ ‘बी’ मा १९१ जना सम्पर्कविहीन छन्।
रसुवाको लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरुङबाट दुई शव फेला परेका छन्। नेपाली सेनाको २५ जनाको टोलीले सुरुङभित्र २०० मिटरसम्म प्रवेश गरी खोजी गरिरहेको छ। आयोजनाका प्रबन्धक विजयमान भट्टराईका अनुसार बाढीले पुर्याएको क्षति भयावह छ।
२१६ मेगावाटको माथिल्लो त्रिशूली–१ आयोजनामा खोजी जारी छ। तीन इन्जिनियरसहितको टोलीले पहुँच टनेलबाट २०० मिटरभित्र पुगेर बन्द भाग फेला पारेको छ। एक शवसमेत भेटिएको छ। अडिट टनेल–३ मा १.८ किलोमिटरसम्म खोजी भएको छ। प्रवद्र्धक एनडब्लुईडीसीका अनुसार ५५७ जना श्रमिक तथा कर्मचारी सम्पर्कविहीन छन्।
२० मेगावाटको चिलिमे जलविद्युत् आयोजनामा पनि खोजी जारी छ। सञ्चालनमा रहेको चिलिमेबाट ६ जना सम्पर्कविहीन छन्। उनीहरू भूमिगत विद्युत् गृहमा फसेको अनुमान छ।
१११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा ९३ जना सम्पर्कविहीन छन्। पर्वतारोही शेर्पाहरूको समूह परिचालन गरी खोजी तीव्र पार्ने तयारी छ। नदीमा १० मिटरसम्म पानीको सतह बढेर जमिन कटान नरोकिँदा समस्या छ।
भोटेकोशी बाढीको दशौँ दिनसम्म कतिपय सुरुङभित्र प्रवेश गर्नसमेत सकिएको छैन। सुरुङ लेदो र ढुंगाले पुरिएको छ। कतै पहुँचमार्ग छैन। कतिपय आयोजनामा शव भेटिएका छन्। त्रिशूली–३ ‘ए’ बाट २१६ घण्टापछि सञ्जय शाह र कबीर महर्जनको जीवित उद्धारले आशा जगाएको छ।
