काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको चरम अभावले उपभोक्ताहरू घण्टौँ लाम बस्न बाध्य भएका छन्। ग्यास आपूर्ति व्यवस्था सहज हुन नसक्दा सर्वसाधारणले ठूलो हैरानी खेप्नुपरेको छ।
सरकारले ग्यासको अभाव नरहेको दाबी गरे पनि आम नागरिकले सहज रूपमा ग्यास पाउन सकेका छैनन्। ग्यास वितरणलाई व्यवस्थित गर्न खुद्रा विक्रेताहरूले कुपन प्रणाली अपनाएका छन्।
कोटेश्वर क्षेत्रका खुद्रा व्यवसायी शङ्करकुमार श्रेष्ठका अनुसार, माग अत्यधिक भए पनि दैनिक करिब १५० वटा सिलिण्डर मात्र वितरण गर्न सकिएको छ। भीड व्यवस्थापनका लागि सिलिण्डरमा नम्बरिङ गर्ने र नामसहितको कुपन बाँडेर भोलिपल्ट ग्यास दिने व्यवस्था मिलाइएको छ। उनले भने, ‘हामीले दैनिक १५० वटा र अपाङ्गता भएका व्यक्तिहरूका लागि १० वटा गरी कुल १६० वटासम्म ग्यास सिलिण्डर वितरण गरिरहेका छौँ।’
ग्यासका लागि लाइनमा बसेका उपभोक्ताहरूले ठूलो सास्ती भोग्नुपरेको गुनासो गरेका छन्। जडिबुटीका राकेश विष्टले दुई–तीन दिनअघि नै कुपन लिए पनि ग्यास नपाएको गुनासो पोखे। सोमबार बिहान ८ बजेदेखि नै ग्यास पाउने आशामा लाइनमा बसेको उनले बताए। ‘काम छोडेर बिहान ८ बजेदेखि नै लाइनमा बसेको छु। चुल्हो बाल्नै पर्ने बाध्यताले गर्दा कामको क्षति सहेर पनि यहाँ आउनुपरेको छ’, उनले भने।
असारको अन्तिम सातादेखि असहज बनेको ग्यास समस्या भोटेकोशी बाढीपछि झनै जटिल बनेको छ। सडक अवरोध र यातायात सञ्चालनमा आएको कठिनाईले समस्या थप जटिल भएको हो।
