शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले बाढीपहिरोबाट प्रभावित विद्यार्थी तथा बालबालिकालाई निःशुल्क अध्ययनको व्यवस्था मिलाउने घोषणा गरेका छन्। सोमबार आयोजित ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले प्रभावित विद्यार्थीको अवस्था र आवश्यकताका आधारमा विभिन्न तहमा छात्रवृत्ति तथा अध्ययनको व्यवस्था गरिने बताए।
रसुवा, नुवाकोट र धादिङलगायत बाढीपहिरो प्रभावित क्षेत्रका विद्यार्थीलाई तत्काल सहयोग उपलब्ध गराउनुका साथै भविष्यमा आउन सक्ने विपद्का कारण शिक्षाबाट वञ्चित हुन सक्ने बालबालिकाका लागि दीर्घकालीन व्यवस्था गर्न खोजिएको उनको भनाइ छ। मन्त्री पोखरेलले विपद्का बेला राज्य एक्लै नरहेको र निजी क्षेत्र, विभिन्न संघसंस्था तथा नागरिकबाट प्राप्त सहयोगले सरकारलाई थप जिम्मेवार भएर काम गर्न प्रेरित गरेको बताए।
विपद् आउनुअघि नै पूर्वतयारी आवश्यक रहेकोमा जोड दिँदै मन्त्री पोखरेलले विगतको विपद् आएपछि तयारी गर्ने परिपाटीलाई चिरेर अगाडि बढ्ने बताए। यसपटक बाढीपहिरो प्रभावित विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने मात्र नभई विपद्का कारण अभिभावक गुमाएका तथा आर्थिक रूपमा कमजोर विद्यार्थीलाई प्राथमिकताका आधारमा अध्ययनको व्यवस्था गरिनेछ। दुवै अभिभावक गुमाएका विद्यार्थीलाई पहिलो प्राथमिकता दिइनेछ।
मन्त्रीका अनुसार विद्यार्थीको आवश्यकता र अवस्थाअनुसार आवासीय विद्यालयमा राखेर अध्ययन गराउने, पूर्ण छात्रवृत्ति उपलब्ध गराउने तथा आवश्यकताअनुसार होस्टेलको व्यवस्था मिलाउने योजना छ। ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’मा प्याब्सन, एनप्याब्सन, हिसान, ओपिन तथा नेपाल मोन्टेसरी एसोसिएसनलगायत निजी शिक्षण क्षेत्रका विभिन्न संघसंस्था सहभागी भएका छन्।
यसैबीच, प्रधानमन्त्री बालेन शाहले रसुवा र नुवाकोटमा भोटेकोशीको बाढीबाट क्षतिग्रस्त जलविद्युत् आयोजनाहरूमा भइरहेको खोज तथा उद्धार कार्यको विस्तृत विवरण सार्वजनिक गरेका छन्। मंगलबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै प्रधानमन्त्री शाहले सीमित स्रोत र साधनका बाबजुद सुरुङभित्रै प्रवेश गरेर राज्य संयन्त्रले अन्तिमसम्म खोज तथा उद्धार जारी राख्ने बताएका छन्।
गत भदौ १० गते हिमपहिरोले भोटेकोशीमा भीषण बाढी ल्याउँदा सञ्चालनमा रहेका तथा निर्माणाधीन विद्युत् आयोजनाका संरचनाहरू ध्वस्त पार्दा ठूलो संख्यामा कर्मचारी तथा प्राविधिकहरू सम्पर्कविहीन भएका थिए। प्रधानमन्त्री शाहका अनुसार नुवाकोटस्थित त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट भदौ १९ गते २ जनालाई जीवितै उद्धार गरिएको छ भने १ जनाको शव फेला परेको छ।
रसुवाको माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनामा नेपाली सेना, चिनियाँ र कोरियन विशेषज्ञ टोलीले खोजी गरिरहेका छन्। जहाँ भदौ २० गते १ जनालाई जीवितै उद्धार गरिएको छ भने ३ जनाको शव निकालिएको थियो। रसुवागढी जलविद्युत् आयोजनामा नेपाली सेना सुरुङको २७५ मिटर भित्रसम्म पुगेको छ। लाङटाङ जलविद्युत् आयोजनामा २ वटा शव फेला पारिएको छ। चिलिमे जलविद्युत् आयोजनामा २ वटा शव निकालिएको छ। त्रिशूली ३ ‘बी’ आयोजनामा उद्धार टोली अडिट सुरुङको १.७ किलोमिटर भित्रसम्म प्रवेश गर्दा एउटा गाडी फेला परेको छ।
जोखिमपूर्ण अवस्थामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका साथै भारत, चीन र कोरियाका विशेषज्ञ टोली परिचालित रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले विपद्को यस घडीमा राज्यले आफ्नो मानवीय दायित्व र जिम्मेवारी पूरा गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका छन्।
