कास्कीको अन्नपूर्ण क्षेत्रमा पर्ने किम्रुङ खोला पहिरोले थुनिएको छ। जिल्ला प्रशासन कार्यालय कास्कीले तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
स्थानीय बासिन्दाले खोला थुनिएको सूचना दिएका छन्। रातको समय भएकाले घटनास्थलमै पुगेर यकिन गर्न नसकिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए। जोखिम न्यूनीकरणका लागि प्रहरीमार्फत नदी किनारका बस्तीमा माइकिङ सुरु गरिएको छ।
प्रशासनले घान्द्रुकभन्दा माथिदेखि नै नदी किनारमा नजान सूचना जारी गरेको छ। जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको छ। ‘प्रहरीमार्फत खोला किनारका सबै बस्तीमा खबर पठाएका छौं, माइकिङ गरेर मानिसहरूलाई सतर्क गराउने र सुरक्षित स्थानतर्फ सार्ने काम भइरहेको छ,’ बरालले भने।
अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीका अनुसार मंगलबार साँझ ६:३० बजेदेखि खोला थुनिएको सूचना छ। पहिरो वा अन्य कारणले कहाँ थुनिएको हो, यकिन हुन सकेको छैन।
जिल्ला प्रशासन कार्यालय पर्वतले मोदी खोलाको शाखा किम्रुङ खोला पहिरोले थुनिएको जनाएको छ। हाललाई कालिगण्डकी दोभानसम्मको तल्लो क्षेत्र नयाँपुल, बिरेठाँटी र आसपासका बासिन्दालाई सुरक्षित स्थानमा जान अनुरोध गरिएको छ।
यसअघि पनि किम्रुङ खोला थुनिँदा तटीय क्षेत्रमा कटानको जोखिम भएको थियो। नेपाली बाढी पूर्वानुमान शाखाले मोदी नदी करिडोरमा आवागमन नगर्न अनुरोध गरेको छ।
