झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) बाट ६ जनाको मृत्यु भएपछि असोज ५ गतेदेखि खोप अभियान सुरु हुँदैछ।
स्वास्थ्य कार्यालय झापाले असोज ५ देखि १९ गतेसम्म खोप अभियान चलाउनेछ। यस अभियानमा १५ वटै पालिकाका ३० वर्षमाथिका नागरिकलाई खोप लगाइनेछ। चार लाख ९३ हजार ३१९ जनालाई खोप लगाउने लक्ष्य छ।
स्वास्थ्य कार्यालयका अनुसार झापामा हालसम्म १३ जनामा जेई सङ्क्रमण पुष्टि भएको छ। तीमध्ये चार महिला र दुई पुरुष गरी छ जनाको मृत्यु भइसकेको छ।
स्वास्थ्य कार्यालयका प्रमुख बृजकुमार दासले अभियानका लागि खोप भण्डारण र व्यवस्थापन अघि बढेको बताए। जिल्लामा सबैभन्दा बढी जेई सङ्क्रमित मेचीनगर नगरपालिकामा भेटिएको छ। खोप अभियान मेचीनगरबाट नै सुरु हुनेछ।
दासका अनुसार, एक स्थानीय तहमा बढीमा सात दिनसम्म खोप सेवा सञ्चालन हुनेछ। खोपले सामान्य असर देखाउन सक्छ। यसले स्वास्थ्यमा ठूलो समस्या पार्ने छैन।
खोपलाई सहज र पहुँचयोग्य बनाउन प्रत्येक वडामा खोप केन्द्र स्थापना गरिनेछ। अभियानमा महिला स्वास्थ्य स्वयंसेविका तथा खोपकर्मी परिचालन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ।
