NM Khabar 9 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

मुख्यमन्त्री यादव: नेपालले राहत होइन, जलवायु न्याय र क्षतिपूर्ति माग्नुपर्छ

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले नेपालले जलवायु परिवर्तनबाट भएको क्षतिको क्षतिपूर्ति माग्नुपर्ने धारणा राखेका छन्। उनले विकसित राष्ट्रहरूको कार्बन उत्सर्जनका कारण नेपालजस्ता मुलुकले प्राकृतिक विपत्तिको सामना गर्नुपरेको आरोप लगाए। रसुवाको भोटेकोशी बाढी पीडितका लागि जनकपुरधाम उद्योग वाणिज्य संघले संकलित राहत सामग्री मुख्यमन्त्री यादवले हस्तान्तरण गरे।
Bikram Magar
Bikram Magar
9 September 2026, 8:33 pm १ मिनेट पढाइ
आकार:
जलवायु न्याय
Share:

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले नेपालले अब अन्तर्राष्ट्रिय समुदायसँग राहत मात्र नभई जलवायु परिवर्तनबाट भएको क्षतिको न्यायसहित क्षतिपूर्ति माग्नुपर्ने बताएका छन्।

रसुवाको भोटेकोशी बाढी प्रभावित नागरिकका लागि जनकपुरधाम उद्योग वाणिज्य संघको सक्रियतामा संकलित राहत सामग्री सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै मुख्यमन्त्री यादवले जलवायु परिवर्तनमा ठूलो योगदान गर्ने विकसित मुलुकका कारण नेपालजस्ता मुलुकले प्राकृतिक विपत्तिको मार खेप्नुपरेको बताए।

उनले चीन, भारत र अमेरिकाजस्ता मुलुकको ठूलो कार्बन उत्सर्जनको असर नेपालले बाढी, पहिरो, हिमताल पग्लिने लगायतका विपत्तिका रूपमा भोगिरहेको दाबी गरे। मुख्यमन्त्री यादवले नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्यायको विषयलाई सशक्त रूपमा उठाउन संघीय सरकारलाई समेत पहल गर्न आग्रह गरे।

उनका अनुसार जलवायु परिवर्तनबाट नेपालले भोगेको क्षतिको उचित क्षतिपूर्ति दिलाउन अन्तर्राष्ट्रिय समुदायसँग गम्भीर छलफल आवश्यक छ। मुख्यमन्त्री यादवले भोटेकोशी बाढी आएकै दिन प्रदेश सरकारले राहतका लागि प्रारम्भिक निर्णय गरेको जानकारी दिए।

प्रदेश सरकारका मन्त्री र कर्मचारीको एक दिनको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको उनले बताए। दोस्रो चरणमा करिब दुई करोड रुपैयाँ बराबरको टेन्ट र कम्बल बाढी प्रभावित क्षेत्रमा पठाउने तयारी छ।

तेस्रो चरणमा खाद्यान्न, लत्ताकपडा तथा अन्य अत्यावश्यक सामग्री पठाउने योजना प्रदेश सरकारको छ। यसअघि मधेस प्रदेश सरकारले भोटेकोशी र त्रिशूली क्षेत्रमा बाढीबाट प्रभावित नागरिकका लागि करिब एक करोड ९६ लाख रुपैयाँ बराबरको राहत सामग्री पठाउने निर्णय गरेको थियो।

बाढी प्रभावित परिवारका लागि जनकपुरधाम उद्योग वाणिज्य संघले खाद्यान्न, लत्ताकपडा, जुत्ता चप्पल, कम्बल, भाँडाकुँडा लगायतका सामग्री संकलन गरेको छ। संकलित सामग्रीमा चामल, दाल, नुन, चिउरा, मुरही, चाउचाउ लगायतका खाद्य सामग्रीका साथै तावा, कराही, थाली, कचौरा र गिलास समेत छन्।

मुख्यमन्त्री यादवले विपद्को समयमा जनकपुरधामका उद्योगी, व्यवसायी र नागरिकले देखाएको मानवीय सहयोगको प्रशंसा गर्दै राहत सामग्री वास्तविक पीडितसम्म न्यायोचित रूपमा पुर्‍याउन आग्रह गरे।

नेपालले पटक–पटक प्राकृतिक तथा मानवीय विपत्तिको सामना गर्नुपरेको उल्लेख गर्दै उनले विपद्को समयमा सबै क्षेत्र र समुदाय एकजुट भएर प्रभावित नागरिकलाई सहयोग गर्नुपर्नेमा जोड दिए।

संघले संकलन गरेको राहत सामग्रीमा ७५ बोरा चामल, २१ बोरा सोयाबिन, दाल, नुन, चुरा, मुरही, चाउचाउ लगायतका खाद्य तथा आवश्यक सामग्री छन्। विभिन्न प्रकारका लत्ताकपडा, जुत्ता चप्पल, कम्बल, बेडसिट, टावेल तथा बालबालिकाका कपडा समेत संकलन गरिएको छ।

बाढी प्रभावित परिवारको दैनिक आवश्यकतालाई ध्यानमा राख्दै ७५ थान तावा, ७५ थान कराही, २०० थान थाली, २०० थान कचौरा, २०० थान गिलासलगायतका भान्सामा प्रयोग हुने सामग्री पनि छन्। राहत सामग्रीमा एक थान सिलाई मेसिनसमेत छ।

विपद्को समयमा पीडित परिवारलाई राहत पुर्‍याउने उद्देश्यले व्यवसायी, सहयोगी तथा विभिन्न संघसंस्थाको सहकार्यमा राहत सामग्री संकलन गरिएको जनकपुरधाम उद्योग वाणिज्य संघले गठन गरेको राहत संकलन समितिका संयोजक जितेन्द्र महासेठले जानकारी दिए।

उनले राहत सामग्री पीडित परिवारसम्म नपुगेसम्म अभियान जारी रहने बताए। राहत सामग्री लिएर बुधबार बिहान बाढी प्रभावित क्षेत्रमा संघको टोली निस्किएको छ।

Bikram Magar

Bikram Magar

संवाददाता · NM Khabar

विक्रम मगर NM खबरका अन्तर्राष्ट्रिय मामिला संवाददाता हुन्। कूटनीति, भूराजनीति र नेपालको परराष्ट्र सम्बन्धमा उनको विश्लेषणात्मक रिपोर्टिङले पाठकहरूलाई विश्व परिदृश्य बुझ्न सहयोग पुर्‍याउँछ। चीन र भारतसँगको नेपालको सम्बन्धमा उनी विशेष रुचि राख्छन्।

सम्बन्धित समाचार