नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकता विवादमा सर्वोच्च अदालतबाट आफूहरूले पूर्ण न्याय पाउने विश्वास व्यक्त गरेका छन्।
पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्चले आफ्नो पक्षलाई ‘निस्सा’ दिएपछि देउवाले आफू नै वैधानिक नेतृत्व रहेको दाबी गरेका हुन्। उनले तत्कालीन अवस्थामा गगन समूहले बोलाएको विशेष अधिवेशन अवैधानिक हुने तर्क गरे।
नेपाली कांग्रेस भक्तपुर जिल्ला समितिले आयोजना गरेको ‘बीपी विचार, राष्ट्रिय राजनीति र नेपाली कांग्रेस’ विषयक विचार गोष्ठीमा बोल्दै देउवाले पार्टीको मूल नेतृत्वलाई बाइपास गरेर गरिने गतिविधिहरू अवैधानिक हुने बताए।
“सभापति म हुँ, मलाई थाहै नदिई विशेष अधिवेशन बोलाउन पाइन्छ ? अधिवेशन पार्टीले पो बोलाउने हो, मलाई थाहै छैन, यसरी अधिवेशन बोलाउन पाइन्छ ?” देउवाले प्रश्न गरे।
सोही कार्यक्रममा सहभागी कांग्रेसका शीर्ष नेताहरूले पार्टीलाई कुनै पनि हालतमा विभाजन हुन नदिई एकढिक्का बनाएर लैजानुपर्नेमा जोड दिए। नेताहरू शशाङ्क कोइराला, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, डा. प्रकाशशरण महत, विनोद कायस्थ र सुरेन्द्र श्रेष्ठले कांग्रेसको एकता जोगाउन विधानसम्मत नियमित महाधिवेशनको प्रक्रियामा जानुको विकल्प नरहेको बताए।
पूर्वसभापति देउवाले रसुवास्थित भोटेकोशी नदीको बाढीबाट प्रभावितहरूको उद्धार तथा राहत कार्यमा तत्काल लाग्न सरकारसँग माग गरेका छन्।
