रसुवाको चिलिमे जलविद्युत केन्द्रको भूमिगत विद्युतगृहमा फसेका कर्मचारीको उद्धार कार्य अन्तिम चरणमा छ। करिब १०० मिटरको दुरीमा रहेका उनीहरूको सकुशल उद्धार हुने आशा बढेको छ।
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सामाजिक सञ्जालमार्फत दिएको जानकारी अनुसार, उद्धार टोली लेदो, बालुवा र ढुंगाले भरिएको सुरुङ छिचोल्दै निरन्तर अगाडि बढिरहेको छ। सुरुङ साँघुरिएको स्थानबाट करिब १२० मिटर भित्र आवाज पठाउँदा इको सुनिएको र चिसो हावासमेत आइरहेको छ। यसले फसेका व्यक्तिहरू सकुशल रहेको आशालाई बल पुर्याएको छ।
घिसिङले आफू चिलिमे जलविद्युत कम्पनीको पूर्वप्रबन्ध–निर्देशकका रूपमा विद्युतगृह सञ्चालनको अनुभवका आधारमा उद्धार टोलीलाई प्राविधिक सुझाव, समन्वय र सहजीकरण गरिरहेको बताएका छन्। उद्धार टोलीबाट प्राप्त जानकारी अनुसार, अब विद्युतगृह पुग्न करिब १०० मिटर मात्र बाँकी छ।
स्याफ्रुवेसीतर्फबाट स्काभेटरमार्फत सुरुङसम्म पुग्ने बाटो निर्माणको काम पनि तीव्र पारिएको छ। आजसम्ममा स्काभेटर सुरुङसम्म पुग्ने सम्भावना छ। त्यसपछि उद्धार कार्य थप तीव्र हुने अपेक्षा गरिएको छ।
घिसिङले उद्धार कार्यमा अहोरात्र खटिने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, भारतीय सेनाका विज्ञ उद्धार टोली, स्थानीय प्रशासन र चिलिमे जलविद्युत कम्पनीका कर्मचारीहरूप्रति आभार व्यक्त गरेका छन्। उनले सुरुङभित्र रहेका सबै व्यक्तिहरूलाई सकुशल उद्धार गर्न सकियोस् भन्ने कामना गरेका छन्।
