भदौ १० गते रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनामा कार्यरत इन्जिनियर अजयप्रसाद सिंह भोटेकोशी नदीमा आएको बाढीपछि बेपत्ता भएका थिए। उनको खोजीमा उनकी श्रीमती पूजा शाह १७ दिनदेखि श्रीमानको पर्खाइमा छिन्।
धनुषाको कमला नगरपालिका–६ का ३० वर्षीय अजय २१६ मेगावाट क्षमताको उक्त आयोजनामा कार्यरत थिए। बाढी आएपछि उनी सम्पर्कविहीन भएका हुन्।
श्रीमती पूजाले मैलुङ बजारस्थित आयोजनाको क्याम्प साइटको तल्लो भेगमा स्थलगत खोज तथा उद्धार टोली पठाइदिन पटक–पटक आग्रह गरे पनि अहिलेसम्म आफ्नो आवाज सुनुवाइ नभएको गुनासो गरेकी छिन्। ‘आज १७ दिन भयो, तर हाम्रो आवाज अझै सुनुवाइ भएन,’ उनले भनिन्।
उनले पहुँच भएका र नभएका पीडितको उद्धारमा विभेद भएको अनुभूति भएको भन्दै सरकारसँग प्रश्न गरेकी छिन्, ‘पहुँच नभएका पीडितको पीडा कसले सुनिदिने?’
पूजाले नेपाल सरकार र आयोजना निर्माणमा संलग्न दोसान कम्पनीलाई कम्तीमा एउटा हेलिकप्टरसहित २०–२५ जनाको तालिमप्राप्त उद्धार टोली तत्काल परिचालन गरी अजयको सम्भावित क्षेत्रमा खोजी गर्न आग्रह गरेकी छिन्। ‘आफ्ना प्रियजनको अवस्था थाहा पाउन पाए मात्रै पनि ठूलो राहत हुने थियो,’ उनले भनिन्।
उनले सरकारको उद्धार कार्यप्रति समेत प्रश्न उठाएकी छिन्। बेपत्ता व्यक्तिको खोजीमा ढिलाइ हुनुको कारणबारे सरकारसँग जवाफ माग्दै कम्पनीले कसरी खोज तथा उद्धार गरिरहेको छ भन्ने विषयमा नेपाल सरकारले अनुगमन र आवश्यक निर्देशन दिनुपर्ने उनको भनाइ छ। ‘किन ढिला हो सरकार? के यो पनि सरकार असफल बनाउने खेल हुँदै हो र?’ उनले प्रश्न गरिन्।
आयोजना कम्पनीलाई मात्र जिम्मेवारी छाडेर सरकार पन्छिन नहुने भन्दै पूजाले खोज तथा उद्धारको अवस्थाबारे नियमित अनुगमन गर्न र आवश्यक निर्देशन दिन सरकारको दायित्व भएको बताएकी छिन्।
भोटेकोशीमा आएको बाढीपछि रसुवा क्षेत्रमा विभिन्न जलविद्युत आयोजना तथा पूर्वाधारमा क्षति पुगेको छ भने केही आयोजनामा कार्यरत कर्मचारी तथा अन्य व्यक्तिहरू समेत बेपत्ता भएका छन्। बेपत्ता व्यक्तिका परिवारले तत्काल खोज तथा उद्धार तीव्र बनाउन सरकारसँग आग्रह गर्दै आएका छन्।
