बाढी र पहिरोले बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न मुख्य राजमार्ग तथा सडक खण्डहरू प्रभावित पारेको छ। नेपाल प्रहरीका अनुसार केही स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध छ। केही स्थानमा एकतर्फी मात्र सवारी साधन सञ्चालन भइरहेको छ।
बिपी राजमार्गअन्तर्गत काभ्रेको खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी खण्डमा १० टनभन्दा बढी वजनका मालबाहक सवारी साधनलाई साँझ ७ देखि बिहान ५ बजेसम्म रोक लगाइएको छ। उक्त खण्डमा बिहान ४ देखि साँझ ६ बजेसम्म परिस्थितिको मूल्याङ्कन गरी सवारी सुचारु गरिनेछ।
रसुवाका सम्पूर्ण मुख्य राजमार्ग बाढीले ठप्प पारेको छ। नुवाकोटको टोखा–छहरे सडक खण्डको शिवपुरी–८ स्थित घट्टेखोलामा जोखिमका कारण राति १० देखि बिहान ५ बजेसम्म सवारी रोकिएको छ। पसाङ ल्हामु सडक खण्डअन्तर्गत विदुर–१० सिमटारमा बाढीले सडक पूर्ण रूपमा अवरुद्ध छ।
पृथ्वीराजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ–७ स्थित कृष्णभिरमा पहिरो जाँदा सडक पूर्ण रूपमा बन्द छ। सोही गाउँपालिकाको ज्वालाखोला र शीतलबजार क्षेत्रमा पहिरो हटाएर सडक एकतर्फी सुचारु गरिएको छ। नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत चितवनको तुइनखोलामा सडक मर्मत भइरहेकाले गाडीको चाप हेरेर एकतर्फी आवागमन गराइएको छ।
गण्डकी प्रदेशको मनाङस्थित चामे–बेसीसहर सडक खण्डको नासो–३ धारापानीमा बाटो निर्माणका कारण साना सवारी साधन मात्र सञ्चालनमा छन्। कर्णाली प्रदेशअन्तर्गत हुम्लाको कर्णाली करिडोर (सर्केगाड–६, खरीखेत) मा पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध छ।
नेपाल प्रहरीले नागरिकलाई सडकको अद्यावधिक स्थिति बुझी यात्रा तय गर्न आग्रह गरेको छ।
