राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुश्बु ओलीले तराई–मधेसमा बढेको धार्मिक तनाव र कालोबजारी नियन्त्रण गर्न सरकारसँग तत्काल पहल गर्न माग गरेकी छन्। मंगलबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले धार्मिक द्वन्द्वका घटना र बजारमा भइरहेको मनपरी नियन्त्रण गर्न सरकारले ठोस कदम चाल्नुपर्ने बताइन्।
सांसद ओलीले केही समयअघि तराई–मधेसमा घटेका धार्मिक द्वन्द्वका घटनाले मानवीय क्षति पुर्याएको भन्दै आपत्ति जनाइन्। उनले भनिन्, ‘धार्मिक द्वन्द्व र हिंसाले देशलाई कहाँ पुर्याउँछ? सरकारले उक्त घटनाको प्रतिवेदन सार्वजनिक गरी दोषीहरूलाई तत्काल कानुनी दायरामा ल्याउनुपर्छ।’
उनले तराई–मधेसमा सनातन हिन्दु आस्था बोकेका युवाहरूलाई धरपकड गरिएको भन्दै यो न्यायोचित नभएको टिप्पणी गरिन्। ‘के यो न्यायोचित हो? यसले थप द्वन्द्व र टकराबको बिउ रोपेको छैन?’ उनले सरकारलाई प्रश्न गरिन्।
चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य वस्तुहरूको मूल्य अस्वाभाविक रूपमा बढेकोमा चिन्ता व्यक्त गर्दै सांसद ओलीले खसीको मासु, चामल, चिनीलगायतका अत्यावश्यक वस्तुको मूल्य आकाशिएको बताइन्। यो महँगीले गरिब जनतालाई बाँच्न कठिन बनाएको उनको भनाइ छ।
उनले बजारमा भइरहेको कालोबजारी नियन्त्रण गर्न र कृत्रिम अभाव सिर्जना गर्नेहरूलाई कारबाही गर्न सरकारसँग माग गरिन्। साथै, तराईका विभिन्न नाकाबाट भइरहेको गौ–तस्करी र अवैध गतिविधि रोक्न पनि सरकारको ध्यानाकर्षण गराइन्।
प्रमुख सचेतक ओलीले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको सचिवालयले जारी गरेको विज्ञप्तिले हिन्दु धर्म र परम्परामाथि प्रहार गरेको आरोप लगाइन्। उनले यस्ता अभिव्यक्तिले समाजमा गम्भीर प्रश्न उब्जाएको भन्दै सरकारले मन्त्री र नेताहरूको अभिव्यक्तिमाथि नियन्त्रण गर्नुपर्ने र नागरिकका गुनासाहरूलाई सम्बोधन गर्नुपर्नेमा जोड दिइन्।
उनले सबै धर्म र संस्कृतिको सम्मान गर्दै देशको गौरव बचाउन सरकारले आफ्नो आँखा र कान खोल्नुपर्ने बताइन्। सांसद ओलीले सरकारको पछिल्लो कार्यशैली र विभिन्न मन्त्रालयहरूको कामकारबाहीप्रति प्रश्न उठाउँदै देशमा शान्ति, सुव्यवस्था र महँगी नियन्त्रण गर्न तत्काल ठोस कदम चाल्न सरकारलाई चेतावनीसमेत दिइन्।
