राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मुलुकमा बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भइरहेका बेला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने प्रस्तावसहित शीर्ष नेताहरूको सर्वदलीय बैठक आह्वान गरेका छन्।
बैठक बुधबार बिहान ११ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्ने तय भएको छ। यसअघि पनि लामिछानेले विपद् व्यवस्थापनका विषयमा छलफल गर्न दुई पटक सर्वदलीय बैठक बोलाएका थिए।
रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार बैठकको मुख्य एजेन्डा विपद् प्रतिकार्य, प्रभावकारी उद्धार, राहत तथा पुनर्निर्माणलाई गति दिन उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने रहेको छ। विपक्षी दलहरूले संसद् बैठकमा पनि उच्चस्तरीय राजनीतिक संयन्त्र गठनको सहमति कार्यान्वयनबारे प्रश्न उठाएपछि लामिछानेले यो बैठक बोलाएका हुन्।
भदौ १० गते बसेको पहिलो बैठकले बाढी प्रभावित क्षेत्रका जनतालाई उद्धार, राहत तथा व्यवस्थापनका लागि उच्चस्तरीय संयन्त्र गठन गर्ने निर्णय गरेको थियो। भदौ १६ गते बसेको दोस्रो बैठकमा दोस्रो तहका नेताहरूको सहभागिता थियो। भोटेकोशीमा आएको विनाशकारी बाढीपछि बसेको सर्वदलीय बैठकले विपद्को दिगो समाधान र पूर्वतयारीका सम्बन्धमा १० बुँदे साझा सङ्कल्प पनि पारित गरेको थियो।
