सेवाग्राहीसँग नौ लाख रुपैयाँ घुस लिँदै गर्दा नापी कार्यालय डिल्लीबजारका अधिकृत डिल्लीबहादुर वली अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन्। टोखा नगरपालिका वडा नं-५, बसुन्धरा चोकस्थित एक रेस्टुरेन्टबाट वलीलाई रंगेहात पक्राउ गरिएको हो।
नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नम्बर नापी टोली माछापोखरीका टोली प्रमुखसमेत रहेका वलीमाथि छूट जग्गा दर्ता सिफारिसको मिसिल भूमि प्रशासन कार्यालय, मनमैजु पठाउन सेवाग्राहीसँग घुस मागेको उजुरी परेको थियो।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार वलीले सेवाग्राहीलाई अनावश्यक दुःख, हैरानी र सास्ती दिँदै घुस मागिरहेको सूचना आयोगमा पुगेको थियो।
सूचना र उजुरीका आधारमा अख्तियारको टङ्गाल कार्यालयबाट खटिएको विशेष टोलीले वलीलाई नौ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नगद रकमसहित पक्राउ गरेको हो।
विशेष अदालतबाट म्याद थप आदेश प्राप्त गरेपश्चात् वलीमाथि भ्रष्टाचार मुद्दामा विस्तृत अनुसन्धान अघि बढाइएको अख्तियारले जनाएको छ।
