१० भदौमा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले ८२ सुरक्षाकर्मीलाई बगाएको छ । तीन साता बितिसक्दा पनि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका ८२ जनाको अझै पत्तो छैन ।
सैनिक मुख्यालय जंगी अड्डाका अनुसार ४५ सैनिक सम्पर्कविहीन छन् । नेपाली सेनाले उनीहरूको खोजी गरिरहेको छ ।
नेपाल प्रहरीका २५ जना सम्पर्कविहीन छन् । रसुवागढी, टिमुरे, स्याफ्रुबेसी, हाकु र मैलुङमा कार्यरत प्रहरीसँग सम्पर्क हुन सकेको छैन । २८ प्रहरी बेपत्ता भएकामा तीन जनाको शव भेटिएको थियो ।
सशस्त्र प्रहरीका १२ जना अझै सम्पर्कमा छैनन् । १३ जना सम्पर्कविहीन भएकामा एक जनाको शव भेटिएको थियो ।
सम्पर्कविहीनहरूको खोजी जारी छ । आफन्तले शव पहिचानका लागि डीएनए जाँचका लागि रगत दिन थालेका छन् ।
सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले ४५ सैनिक परिवारबाट डीएनए संकलन गरिएको बताए । स्याम्पल म्याचको काम अघि बढाइएको छ । प्रहरी र सशस्त्रका परिवारले पनि डीएनए दिएका छन् ।
जंगी अड्डाले पीडित परिवार लक्षित हेल्प डेस्क स्थापना गरेको छ । प्रारम्भिक चरणका काम सकिएका छन् । सम्पर्कविहीन ४५ परिवारलाई प्रारम्भिक राहत वितरण गरिएको छ ।
‘बेपत्ताको हकमा कानुनी अड्चन छ । कानुनी पाटो सम्बोधन भएपछि राहतका लागि तयारी छ,’ जंगी अड्डा स्रोतले भन्यो । पीडित परिवारसँग समन्वय भइरहेको छ ।
प्रहरीका बेपत्ता परिवारलाई १० लाख रुपैयाँ राहत दिने निर्णय भएको छ ।
ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारलाई नेपाल प्रहरी कल्याण कोषबाट विशेष सापटी ऋण मिनाहा गरिनेछ । परिवारका एक सदस्यलाई सिपमूलक तालिम दिइनेछ । उनीहरूका सन्ततिलाई प्रहरी आवासीय विद्यालयमा कक्षा १० सम्म निःशुल्क पढाइनेछ ।
बाढी प्रभावित क्षेत्रमा कार्यरत प्रहरीका सामग्रीमा क्षति पुगेकोमा जनही ५० हजार रुपैयाँ राहत दिइनेछ । प्रहरी नियमावलीबमोजिम सेवा–सुविधा पाउनेछन् ।
सशस्त्र प्रहरीका बेपत्ता परिवारलाई २५ लाख राहत दिने निर्णय भएको छ । मृतक सशस्त्र प्रहरीका आश्रित परिवारलाई तत्काल १५ लाख, कार्यविधि २०७९ बमोजिम ५ लाख र कोष सञ्चालनसम्बन्धी मापदण्ड २०८१ बमोजिम ५ लाख गरी कुल २५ लाख दिइनेछ ।
मृतक कर्मचारीका कल्याण कोषको ऋण मिनाहा गरिनेछ । सन्ततिलाई नेपाल एपीएफ स्कुलमा कक्षा १० सम्म शुल्क छुट हुनेछ । बाढीमा परी सशस्त्र प्रहरीका आश्रित परिवारका सदस्यको मृत्यु भएमा प्रतिव्यक्ति १ लाख दिइनेछ । सशस्त्र प्रहरी कर्मचारीको स्मृतिमा स्मारकसमेत बन्नेछ ।
