भारी वर्षा र पहिरोको जोखिमले कान्ति राजमार्ग र भैँसे–भीमफेदी–देउराली–कुलेखानी सडकखण्डमा रातिको सवारी आवागमन बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले यो निर्णय गरेको हो।
प्रशासकीय अधिकृत सन्तोष सुवेदीका अनुसार, जल तथा मौसम विज्ञान विभागले असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना औंल्याएको छ। यसै कारण सडक सुरक्षालाई प्राथमिकता दिँदै यो निर्णय गरिएको हो।
असोज ९ गतेदेखि अर्को सूचना जारी नभएसम्म कान्ति राजमार्गमा बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म मात्र चौघडाबाट काठमाडौँतर्फ सवारी प्रस्थान गर्न पाइनेछ।
भैँसे–भीमफेदी–देउराली–कुलेखानी सडकखण्डमा पनि बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म हेटौँडाको चौकीटोलबाट काठमाडौँतर्फ र फाखेलको हुमाने तथा सिस्नेरीको रामचन्द्रभञ्ज्याङबाट हेटौँडातर्फ सवारीहरूलाई प्रस्थान गर्न दिइनेछ।
प्रशासनले बेलुका ७ बजेपछि यी सडकखण्डहरूमा रातिको समयमा सवारी आवागमन पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ। यात्रुहरूलाई तोकिएको समयभित्र मात्र यात्रा गर्न आग्रह गरिएको छ।
