चितवनको देवघाटस्थित नारायणी नदीको जलसतह ११ मिटर पुगेको छ। यो खतराको तहभन्दा १ मिटरभन्दा बढी हो। नारायणीमा ७.३ मिटर पुगेपछि चेतावनी तह पार हुने गर्छ। अविरल वर्षाले नदीको बहाव बढेर खतराको तह पार गरेको हो।
जलसतह बढेसँगै भरतपुर महानगरपालिका–१७ र २८ का नदी तटीय क्षेत्रका केही बस्तीमा पानी पस्न थालेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तत्काल सुरक्षित स्थानमा जान आग्रह गरेको छ। प्राधिकरणका अनुसार जलसतह अझै बढेर करिब १३ मिटरसम्म पुग्न सक्ने अनुमान छ।
चितवनको बनकट्टास्थित रिउ खोलामा पनि जलसतह ४.६२ मिटर पुगेको छ। रिउ खोलामा ३.४० मिटर चेतावनी तह र ३.८० मिटर खतराको तह मानिन्छ। जलसतह केही घटे पनि खतराको सीमाभन्दा माथि नै छ।
नारायणी नदी र रिउ खोलामा पानीको बहाव उच्च छ। जल तथा मौसम विज्ञान विभागले नदी किनारका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। चितवन प्रहरी प्रमुख एसपी रामेश्वर पौडेलले तटीय क्षेत्रका बासिन्दालाई सर्तक रहन भनेका छन्।
