बाढी र पहिरोले बुधबार देशभरका प्रमुख राजमार्ग ठप्प पारेको छ। प्रहरीका अनुसार अधिकांश स्थानमा यातायात पूर्ण रूपमा बन्द छ। केही सडक भने एकतर्फी मात्र सञ्चालनमा छ।
ललितपुरको गोदावरी नगरपालिका-४ को टिका भैरव चारधारे सडक पहिरोले एकतर्फी छ। कान्तिलोकपथको ताकुर्चे खण्ड पूर्ण अवरुद्ध छ।
रसुवा जिल्लामा बाढीले मुख्य राजमार्गका सबै खण्ड बन्द गरेको छ। गण्डकी प्रदेशमा मनाङको बेसीशहर-खाडसार सडक बाढीले अवरुद्ध छ।
म्याग्दीको बेनी-जोमसोम र बेनी-दरबाङ सडक पहिरोले बन्द छ। मुस्ताङको जोमसोम-कोरला सडक पनि पूर्ण अवरुद्ध छ।
पर्वतको मालढुङ्गा-बेनी र मध्यपहाडी लोकमार्ग बन्द छ। नवलपरासी पूर्वको कालिगण्डकी करिडोर र लमजुङको मध्यपहाडी लोकमार्गमा पहिरो गएको छ।
बागलुङको कालिगण्डकी करिडोरमा पहिरो पन्छाएर एकतर्फी सञ्चालन गरिएको छ। गुल्मीको कालिगण्डकी करिडोर बन्द छ। पाल्पाको सिद्धार्थ राजमार्ग एकतर्फी सुचारु छ।
अवरुद्ध सडक खुलाउने काम भइरहेको छ। यात्रा गर्नुअघि स्थानीय प्रहरी वा सम्बन्धित निकायमा सम्पर्क गर्न अनुरोध गरिएको छ।
