मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar

बेनीको शिरमा पहिरोको जोखिम: पाँच सय घर खतरामा

म्याग्दीको सदरमुकाम बेनी बजारको शिरमा पहिरो खस्न थालेको छ। जमिन चर्किएर पहिरोको जोखिम बढेपछि पाँच सयभन्दा बढी घरहरू खतरामा परेका छन्। स्थानीय प्रशासनले भूगर्भविद्बाट अध्ययनका लागि सिफारिस गरेको छ।
Kamala Devi
Kamala Devi
30 September 2026, 6:03 pm १ मिनेट पढाइ
आकार:
बेनी पहिरो जोखिम
Share:

म्याग्दीको सदरमुकाम बेनी बजारको शिरमा रहेको पाखो जमिन चर्किएर पहिरो खस्न थालेपछि करिब पाँच सयभन्दा बढी घरहरू जोखिममा परेका छन्। कालीगण्डकी र म्याग्दी नदीको दोभानमा अवस्थित बेनी बजारको न्युरोड पछाडिपट्टिको पाखोमा जमिनमा ठूला चिराहरू परेका छन्।

तीन दिनयता पहिरोको चिराको आकार बढेको छ। बुधबार बिहान पनि पहिरो खसेको न्युरोडका बासिन्दा सन्तोष ढुङ्गानाले बताए। ‘असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछि गलेको जमिन पछिल्लो तीन दिनयता चिरा परेर दबेको छ,’ उनले भने, ‘आज बिहान खसेको पहिरो पाखोमा रहेका बाँसको झ्याङमा अड्किए पनि जोखिम टरेको छैन।’

करिब तीन सय मिटर उचाइ र पाँच सय मिटर चौडाइ क्षेत्रफलको खरबारीको माथिल्लो भाग एक मिटरभन्दा तल दबेको छ। बीच भागमा धेरै ठाउँमा चिराचिरा परेर धाँजा फाटेकाले जोखिम रहेको बेनी नगरपालिका–८ खोरियाका बासिन्दा निशा सुवेदीले बताइन्। ‘दैनिकजसो जमिनमा परेको चिरा झन, झन फराकिलो हुन थालेपछि नगरपालिकाका जनप्रतिनिधिलाई खबर गरेको थिए,’ उनले भनिन्, ‘मङ्गलबार नगरप्रमुख सुरत केसी र बुधबार बिहान प्रमुख जिल्ला अधिकारी गणेश गैरेको टोलीले जोखिमयुक्त क्षेत्रको अवलोकन गरेर फर्कनुभयो।’

पहिरोले पाखोमा निर्माण भएको पक्की पदमार्गको ढलान दवेको र भाँचिएको छ। पहिरो गएको र जमिन चर्किएको ठाउँमा रहेको पानीलाई पाइपबाट बेनी बजारमा ल्याएर जोखिम घटाउने प्रयास गरिएको न्युरोडका बासिन्दा प्रकाश श्रेष्ठले बताए। ‘यसरी जमिन चल्नुलाई हामीले खतरा र जोखिम महसुस गरेका छौँ,’ उनले भने, ‘हाम्रो क्षमताले भ्याएसम्म पाइपबाट पानी तर्काउने काम गरेका छौँ। थप पहिरो सक्रिय हुन नदिन सरकारी निकायबाट तत्काल कदम चाल्न नसके ठूलो दुर्घटना निम्त्याउन सक्छ।’

यो पहिरोले बेनीको न्युरोड र गणेशटोल क्षेत्रलाई प्रभावित पार्ने जोखिम छ। बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जोखिमयुक्त क्षेत्रको स्थलगत निरीक्षण गरी भूगर्भविद्बाट अध्ययनका लागि प्रशासन कार्यालयमार्फत सरकारसँग सिफारिस गरिएको बताए। नगरपालिकाका इन्जिनियरहरूले पाखोमा चिरा परे पनि रुखहरू नलडेका कारण जमिन दबेको हुनसक्ने अनुमान गरेका छन्।

प्रमुख जिल्ला अधिकारी गणेश गैरेले नगरपालिकाको पत्रअनुसार स्थलगत अवलोकन र जोखिम अध्ययनका लागि भूगर्वविद्हरू पठाइदिन गृह मन्त्रालयमार्फत बुधबार नै पत्र पठाइएको जानकारी दिए। भूगर्भविद्हरूको प्रतिवेदनको आधारमा जोखिमको अवस्था आकलन गर्न सकिने बताउँदै उनले सम्भावित जोखिम र क्षति हुन नदिनका लागि सावधानी अपनाउन बेनी बजारवासीलाई आग्रह गरेका छन्।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार