रामेछापका २७ वर्षीय विनोद तामाङलाई ११ केभी वितरण लाइनको करेन्ट लागेर गम्भीर घाइते भएपछि नेपाल विद्युत् प्राधिकरणले १७ लाख ७८ हजार ६७६ रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ। प्राधिकरणको सञ्चालक समितिले यो निर्णय गरेको हो।
तामाङ रामेछाप नगरपालिका–५ सिमल भञ्ज्याङ खर्कभितेमा ११ केभी वितरण लाइनको अस्थायी स्टेमा छुन पुग्दा करेन्ट लागेर दुर्घटनामा परेका थिए। दुर्घटनापछि उनको काठमाण्डु मेडिकल कलेजमा उपचार गरिएको थियो।
प्राधिकरणले तामाङलाई उपलब्ध गराउने कुल रकममध्ये ७ लाख १८ हजार ६७६ रुपैयाँ उपचार खर्चका लागि छुट्याइएको छ। अस्पतालमा भर्ना भएर उपचार गराएको ६० दिनको अवधिका लागि एक जना कुरुवाको खर्चबापत ६० हजार रुपैयाँ पनि समावेश गरिएको छ। यसका साथै, प्राधिकरणको दुर्घटना क्षतिपूर्ति विनियमावली, २०६७ अनुसार दुर्घटनाबाट पूर्ण स्थायी असक्तता तथा अंगभंग भएको अवस्थामा क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्थाअन्तर्गत तामाङलाई १० लाख रुपैयाँ पूर्ण अंगभंग बापतको क्षतिपूर्ति प्रदान गरिनेछ। प्राधिकरणले यसअघि नै तामाङलाई ५ लाख रुपैयाँ पेश्कीका रूपमा उपलब्ध गराइसकेको छ। तामाङको उपचार खर्च २ लाख रुपैयाँभन्दा बढी भएकाले प्राधिकरण मेडिकल बोर्डले उनको उपचारसँग सम्बन्धित बिल, भरपाई, चिकित्सकीय प्रेस्क्रिप्सन तथा अन्य कागजातको गहन अध्ययन गरेको थियो। विशेषज्ञ चिकित्सकसहितको बोर्डले उपचारमा लागेको खर्चमध्ये पेश्की कटाएर बाँकी रकम र दुर्घटना क्षतिपूर्तिका लागि भुक्तानी गर्न सिफारिस गरेको थियो।
प्राधिकरणको विनियमावलीमा काममा लगाएका म्यादी, करार तथा ज्यालादारी कामदार वा सर्वसाधारण व्यक्ति विद्युत् दुर्घटनामा परी मृत्यु वा घाइते भएमा उपचार तथा क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था छ। सामूहिक दुर्घटना बीमा नगरिएको अवस्थामा दुर्घटनाबाट मृत्यु वा गम्भीर क्षति भएमा प्रतिव्यक्ति १० लाख रुपैयाँसम्म क्षतिपूर्ति उपलब्ध गराउन सकिने प्रावधान पनि विनियमावलीमा उल्लेख छ। हालै, प्राधिकरण सञ्चालक समितिले २०८१ चैत २९ गते (अप्रिल ११, २०२५) को निर्णयअनुसार विद्युतीय दुर्घटनामा परी मृत्यु हुने सर्वसाधारणलाई दिइने राहत रकम ५ लाखबाट बढाएर १० लाख रुपैयाँसम्म पुर्याएको छ।
नेपाल विद्युत् प्राधिकरणले विनोद तामाङलाई निर्णय भएको कुल रकम १७ लाख ७८ हजार ६७६ रुपैयाँमध्ये पेश्कीबापतको ५ लाख रुपैयाँ कटाएर बाँकी रकम उपलब्ध गराउनेछ।
