पाँचथरको याङवरक गाउँपालिकामा तीन वर्षको अन्तरालमै दोहोरिएको बाढीपहिरोले स्थानीय महमलाल खवासको १० लाख रुपैयाँ बराबरको घर बगाउँदा सरकारी राहतमाथिको आशा पनि बगाएको छ। २०८० सालमा लम्बाखोलाको बाढी आँगनबाट बगेपछि त्रासमा परेको खवास परिवारले विगतको भयावह अवस्था नदोहोरिएला भन्दै घरलाई व्यवस्थित बनाएको थियो। तर, २०८३ जेठमा आएको विपद्ले उनको घर नामोनिशान नरहने गरी बगाएर लग्यो।
‘पहिले पनि आँगनबाट बाढी बगेको थियो। तर घर नै बगाउँला भन्ने त सोचेका थिएनौँ,’ खवासले सुनाए, ‘हामी लगाएको कपडामा दुई मिनेटको अन्तरमा भाग्न सफल भयौँ। एक मिनेटको अन्तरमा घर बाढीले बगायो। मध्यरात भागेर बाँच्यौँ।’ ज्यान जोगिए पनि खवास परिवार अहिले देउकुमार राईको बन्दकी लगाएर बसिरहेको छ। महमलालका अनुसार, त्रासले भने अझै छाडेको छैन।
कम्तीमा रु १० लाख लागत मूल्याङ्कन हुने घरसहित जग्गा जमिन र सबै सामग्री पहिरोले बगाएपछि खवास परिवार विदेश गएका छोराको मद्दतले गुजारा गरिरहेका छन्। यो पहिरोले महमलालका भाइ कविरमान खवासको घर पनि बगाएको थियो।
चाम्लिङडाँडाकै रामकुमार राईको घर बाढीपहिरोबाट जोगियो। तर, तीन वर्षअघि २०८० सालमा करिब १० मन (४० किलो) अलैँची उत्पादन हुने उनको बारी पहिरोले बगाएको थियो। अहिले २०८३ जेठमा आएको विपद्ले त्योभन्दा दोब्बर बढी, करिब १५ मन अलैँची फल्ने बारी र दुई खला खेत बगाएपछि उनी हातपाउ गलेको बताउँछन्।
‘मेरो जति क्षति यो वडामा कसैको पनि भएन होला,’ रामकुमारले भने, ‘२०८० मै करिब १० मन अलैँची फल्ने जमिन बगाएर लगेको थियो। यस वर्ष करिब १५ मन उत्पादन हुने अलैँचीखेती र दुई खला खेत बाढी र पहिरोले बगाएर लग्यो। अहिले सबै ढाँड बनेको छ। एक झ्याङ पनि अलैँची बाँकी रहेन।’ अलैँची टिप्ने बेलामा उनीसँग अलैँचीको बगान नै बाँकी छैन।
स्थानीय इन्द्रबहादुर चाम्लिङले २०८० सालको बाढीपहिरोले ठूलो क्षति पुर्याएपछि यस्तो विपद् फेरि नआउने धेरैलाई लागेको बताए। ‘तर यसपालि त्योभन्दा ठूलो विपद् आउँदा हामी अचम्मित भयौँ,’ उनले भने, ‘उस्तै विपद् दोहोरिएपछि त्रासमा बाँच्नुपर्ने अवस्था आएको छ।’ चाम्लिङडाँडाकै रविन राईको घर पनि जोखिममा परेको छ। उनको घरभन्दा मुनि गैरीखेत पहिरोले तानेको छ भने अगाडि पँधेरे खेत बाढीले पुरेको छ। ‘हिउँदमा त ठिकै छ। बर्खा लागेपछि भाग्नैपर्ने होला,’ रविनले भने, ‘आकासबाट त्योभन्दा ठूलो पानी पर्छ।’
राहत प्रक्रियाको जटिलताले पीडितको वितृष्णा
प्राकृतिक विपत्तिमा घरको पूर्ण क्षति भएका परिवारलाई सरकारले जिल्ला दैवी प्रकोप समितिमार्फत रु चार लाख रकम दिने व्यवस्था गरेको छ। तर, तीन किस्तामा प्राप्त हुने यो रकमको प्रक्रियागत जटिलता बुझेर पहिरो प्रभावित महमलाल खवासले सरकारको बाटो नहेर्ने सोच बनाएका छन्। ‘घर निर्माण गर्न तीन किस्तामा रकम आउने रहेछ,’ खवासले भने, ‘पालिका गएँ, फिदिम (सदरमुकाम) गएँ। तर मैले प्रक्रिया पूरा गर्दागर्दै साहुबाट काढेको रु नौ हजार सकियो।’ उनले थपे, ‘अब म नखोज्ने, बरु आफैँ बनाएर बस्ने। खोज्दाखोज्दै ऋणमा डुबिने रहेछ। अझै केही समय अर्कैको घरमा जीविका चलाउँछु।’
यस्तै निराशा अर्का प्रभावित रामकुमार राईसँग पनि छ। उनले २०८० सालमा पनि क्षतिपूर्तिका लागि निवेदन पेस गरेका थिए तर कुनै राहत प्राप्त भएन। ‘हामीलाई क्षतिपूर्तिका लागि आवेदन मागिएको थियो। तर पहिलेकै क्षतिमा कुनै क्षतिपूर्ति नभएपछि मैले त क्षतिको विवरण पनि दिन मन लागेन,’ रामकुमारले भने, ‘बाँचियो भने भयो।’ स्थानीय तहले क्षतिपूर्ति दिन नसक्ने र माथिल्ला निकायले वास्ता नगर्ने हुँदा रामकुमारलाई कुनै प्रकारको राहत पाउने आशा छैन।
याङवरक गाउँपालिका-१ मा मुरुङ्गा, मेवा र लम्बाखोला तथा अन्य ससाना खोल्सीमा आएको बाढी र सयौँ स्थानमा खसेको पहिरोले ठूलो क्षति पुर्याएको थियो। यसबाट समरजुङ, मगरडाँडा, कोप्चे, खोलाघारी, चोक, चाम्लिङडाँडा, बिरुवा वस्ती प्रभावित भएका थिए। महमलालका भाइ कविरमान खवासको घरसहित रविन राई, रामकुमार राई, जहरमान बेघालगायत १६ परिवारको अलैँची तथा धानखेती बगरमा परिणत भएको छ।
२०८३ जेठको विपद्ले पाँचथर र ताप्लेजुङ जोड्ने इन्द्रावती खोलाको पुल, हिलिहाङ र ताप्लेजुङ जोड्ने निर्माणाधीन लिम्बुनी मोटरएबल पुल, च्याङथापु र चाम्लिङडाँडा जोड्ने झोलुङ्गे पुल, च्याङथापु र एकराते जोड्ने झोलुङ्गे पुल, तथा याङवरक-२ दोभानेस्थित नाम्रेक र फलैचा जोड्ने झोलुङ्गे पुलमा क्षति पुर्यायो। मध्यपहाडी लोकमार्गको थर्पु–चिवाभञ्ज्याङ खण्ड पहिरोका कारण अवरुद्ध भयो भने दोभानेमा रहेको डाइभर्सन र एउटा निर्माणाधीन पुल पनि बाढीले बगायो। बाढीपहिरोका कारण मोबाइल नेटवर्क र विद्युत् सेवा समेत अवरुद्ध भएको थियो।
विसं २०८० असार ३ गते कोशी प्रदेशका संखुवासभा, पाँचथर र ताप्लेजुङमा आएको बाढीपहिरोमा परी ३ जनाको मृत्यु भएको थियो भने ३४ जना बेपत्ता भएका थिए। पाँचथरको फालेलुङ गाउँपालिकाकी ९ वर्षीया जुना सावदेनको पहिरोमा पुरिएको अवस्थामा उद्धारपछि उपचारका क्रममा मृत्यु भएको थियो। पाँचथर र ताप्लेजुङमा गरी १३ जना बेपत्ता भएका थिए भने हेवा खोलामा ६ जना बेपत्ता भएका थिए। सोही वर्ष पाँचथरमा बाढीपहिरोका कारण चार स्थानीय तहका ११९ परिवार (५७४ जना) प्रभावित भएका थिए, जसमध्ये १४ घर पूर्ण रूपमा विस्थापित र ८६ घर उच्च जोखिममा परेका थिए। विसं २०८३ असोज ३० गतेसम्मको तथ्यांकअनुसार कोशी प्रदेशमा बाढी र पहिरोले ४४ जनाको ज्यान गएको थियो।
सरकारी राहतमाथि आशा मारिसकेका खवास परिवारले अब आफ्नै बलबुतामा जीवन अगाडि बढाउने योजना बनाएका छन्। विदेश गएको छोरो आएपछि गाउँकै पाखाभित्तामा जग्गा खोजेर घर बनाउने सोच उनीहरूको छ। ‘अब सबैको क्षति भएको छ, सरकारले कसलाई राहत दिएर सकोस् र?’ महमलालले भने, ‘हाम्रो ज्यान बाँचेकै छ। कमाएर केही गरौँला भन्ने सोच बनाएका हौँ।’
