मकवानपुरको बकैया गाउँपालिका–३ स्थित बसन र हात्तीसुँडे जोड्ने झोलुङ्गे पुल २०८१ असोजको बाढीले भत्किएपछि करिब दुई सय विद्यार्थी दैनिक ज्यानको बाजी थापेर खोला तर्न विवश छन्।
बिहान–बेलुका विद्यालय जान र फर्किन विद्यार्थीले आफ्नो झोला, जुत्ता र पोशाक हातमा बोकेर घुँडासम्म आउने चिसो भेलमा लड्खडाउँदै खोला तर्नुपर्ने बाध्यता छ। स्थानीय अभिभावक बाबुराज न्यासुर आफ्ना छोराछोरीलाई खोला कटाउन दैनिक रूपमा खटिनुपर्ने अवस्था आएको बताउँछन्। बाढी आउँदा बाटो पूर्ण रूपमा अवरुद्ध हुने र अभिभावक लिन नआउँदासम्म विद्यार्थीहरू घण्टौँ विद्यालयमै कुर्नुपर्ने बाध्यता स्थानीयले भोग्दै आएका छन्। न्यासुरका अनुसार यो समस्या वर्षौंदेखि कायम भए पनि सरोकारवाला निकायले पुल निर्माणका लागि कुनै पहल गरेको छैन।
पुलको अभावमा विद्यार्थीको पठनपाठनमा गम्भीर असर परेको छ। बाढीको जोखिम मोलेर विद्यालय जानुपर्ने र अवरुद्ध बाटोका कारण घर फर्कन नसक्ने अवस्थाले बालबालिकाको मानसिक र शारीरिक स्वास्थ्यमा पनि नकारात्मक असर परिरहेको छ। चार–पाँच वर्षका बालबालिका विद्यालय जानका लागि जोखिमपूर्ण बाटो र नदी पार गर्नुपर्ने बाध्यता रहेको भक्तबहादुर दुधराजले बताए।
पुल क्षतिग्रस्त भएपछि बसन गाउँ नै टापुजस्तै बनेको छ। विद्यालय जाने विद्यार्थी मात्र नभई स्वास्थ्य उपचार, दुध विक्री र दैनिक उपभोग्य वस्तु किन्न बजार जाने स्थानीय बासिन्दासमेत जोखिम मोलेरै खोला तर्न बाध्य छन्। भक्तबहादुर दुधराजका अनुसार समस्याबारे सम्बन्धित निकायमा पटक–पटक जानकारी गराउँदा पनि सुनुवाई हुन सकेको छैन।
डीपीआर तयार, बजेट अभावले पुल निर्माण रोकियो
बकैया गाउँपालिका ‘बालमैत्री स्थानीय तह’ घोषणा भइसकेको छ। तर, गाउँपालिकाका बालबालिकाको आधारभूत आवतजावतको अधिकार नै सुरक्षित नहुनु प्रशासनिक कमजोरीको उपज हो। नेपालमा २०८३ असोज १३ (सेप्टेम्बर २९, २०२६) सम्मका बाढीका घटनामा ३५ जनाको मृत्यु र १५ जना घाइते भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ। यस्तो संवेदनशील अवस्थामा पनि बकैयाका बालबालिकाले जोखिम मोलेरै खोला तर्नु पर्ने बाध्यता छ।
पक्की पुल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भए पनि बजेट अभावले काम अघि बढ्न सकेको छैन।
