काठमाडौंको बुढानिलकण्ठबाट २१ किलो सुन बरामद गर्न प्रहरीले १० दिनसम्म निगरानी गरेको खुलेको छ। सुन बरामद गर्ने क्रममा तस्करहरूले प्रहरीमाथि आक्रमणको प्रयास गरेका थिए।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले एक साताभन्दा बढी समयदेखि सुन तस्करीमा संलग्न समूहको निरन्तर निगरानी गरेको थियो। प्रहरी अधिकारीका अनुसार, सुन मात्र नभई यसका मालिकलाई समेत पक्राउ गर्ने उद्देश्यले लामो पर्खाइपछि अपरेशन गरिएको हो।
प्रहरी टोली चिनियाँ नागरिकसहितका व्यक्ति भएको घरभित्र प्रवेश गर्दा उनीहरूले प्रहरीमाथि आक्रमण गरी भाग्ने प्रयास गरेका थिए। तर, उनीहरू सफल हुन सकेनन्।
बरामद गरिएको सुनमध्ये १० किलो तयारी अवस्थामा र ११ किलो प्रशोधन गर्न बाँकी रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। प्रहरीले सुनको ढिक्का बनाउन प्रयोग गरिने उपकरण पनि घटनास्थलबाट बरामद गरेको छ। प्रहरीका अनुसार, यो पछिल्लो केही वर्षयताकै सुनसम्बन्धी ठूलो अपरेशन हो।
प्रारम्भिक अनुसन्धानबाट बरामद सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भित्रिएको आशंका गरिएको छ। ढिक्का बनाएको सुन भारततर्फ तस्करी हुने गरेको एक अधिकारीले बताए। गृहमन्त्री सुधन गुरुङलाई समेत सुन भण्डारण गरिएको विषयमा सूचना पुगेको थियो।
प्रहरीले यस प्रकरणमा केही व्यक्तिलाई पक्राउ गरिसकेको छ, तर उनीहरूको नाम खुलाइएको छैन। पक्राउ परेका व्यक्तिहरूसँग सोधपुछ जारी रहेको र सबै सञ्जालबारे चाँडै विस्तृत जानकारी आउने प्रहरीले जनाएको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालयले आज (शुक्रबार) पत्रकार सम्मेलन गरेर यस प्रकरणबारे विस्तृत जानकारी दिने तयारी गरेको छ।
यसअघि: बूढानीलकण्ठबाट २१ किलो अवैध सुन बरामद, केही व्यक्ति नियन्त्रणमा
