जेनजी आन्दोलन’ का क्रममा नागरिकको ज्यान गएको घटनामा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिबार बिहान पक्राउ परेका छन्। प्रहरीले उनलाई भक्तपुरको गुण्डुस्थित निवासबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर काठमाडौँ ल्याएको छ।
प्रहरीको जरुरी पक्राउ पुर्जी बुझ्दै गर्दा ओलीले सरकारको यो कदम पूर्णतः राजनीतिक बदलाको भावनाबाट प्रेरित रहेको टिप्पणी गरेका छन्। देशको प्रमुख प्रतिपक्षी दलका नेतालाई ‘हेलचेक्र्याइँ गरी ज्यान मारेको’ अभियोगमा पक्राउ गरिनुले अबको राजनीति सडक र अदालत दुवै मोर्चामा तातिने प्रस्ट संकेत गरेको छ।
प्रहरी निवासमा पुगेपछि ओलीले आफ्ना कानुनी सल्लाहकारहरूसँग आकस्मिक छलफल गरेका थिए। पूर्वमहान्यायाधिवक्ता रमेश बडाल र वरिष्ठ अधिवक्ता टिकाराम भट्टराई सँगको परामर्शका क्रममा ओलीले भने, “यो पक्राउ प्रतिशोधपूर्ण छ। मलाई नियोजित रूपमा फसाउन खोजियो, यसको कानुनी लडाइँ लड्छु। तपाईंहरू तयारी गर्नुहोस्।”
नयाँ सरकारले शक्तिशाली नेतालाई समेत नछाड्ने ‘एक्सन’ लिएको छ भने, एमालेले यसलाई राजनीतिक प्रतिशोधको रूपमा लिएको छ। यसले नयाँ सत्ता र परम्परागत शक्तिबीचको सिधा टकराव सुरु भएको देखाउँछ, जसको असर समग्र राष्ट्रिय राजनीति र कानुनी प्रणालीमा पर्नेछ।
ओलीलाई काठमाडौं प्रहरी परिसरमा राखिएसँगै एमाले कार्यकर्ताले सडक आन्दोलन चर्काउने सम्भावना प्रबल छ। सँगसँगै ओलीका कानुन व्यवसायीहरूले अदालतमा पक्राउको कानुनी आधारमाथि चुनौती दिँदै ‘काउन्टर’ लडाइँ सुरु गर्नेछन्।
#KPOliArrest #NepalPolitics #GenZMovement #NmKhabar #NepalNews