सल्यानमा स्क्रब टाइफस संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ। दार्मा गाउँपालिका–४ का ६२ वर्षीय जितबहादुर मल्लको नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १० पुगेको हो।
स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार, जिल्लामा हालसम्म ८१७ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये दार्मा गाउँपालिकामा सर्वाधिक २८१ जना रहेका छन्।
दार्मा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतका अनुसार, मल्लको असोज २८ गते गरिएको परीक्षणमा स्क्रब टाइफस संक्रमण पुष्टि भएको थियो। जिल्ला अस्पतालबाट घर फर्किएपछि श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई घोराही हुँदै थप उपचारका लागि नेपालगञ्ज लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको बस्नेतले जानकारी दिए।
स्वास्थ्य सेवा कार्यालयको तथ्यांकअनुसार, बागचौर नगरपालिकामा २४७, कुमाख गाउँपालिकामा ८२, कपुरकोट गाउँपालिकामा ६९, जिल्ला अस्पताल सल्यानमा ६६ र छत्रेश्वरी गाउँपालिकामा ५१ जनामा संक्रमण देखिएको छ। यसैगरी, बन्गाड कुपिण्डे नगरपालिकामा ११, त्रिवेणी गाउँपालिकामा ६, सिद्धकुमाख गाउँपालिकामा ३ र कालिमाटी गाउँपालिकामा २ जनामा संक्रमण पुष्टि भएको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार, नेपालमा सन् २०२६ को जनवरीदेखि हालसम्म ७४ जिल्लाबाट १०,२१० जना स्क्रब टाइफस संक्रमित भएका छन्। तीमध्ये ७ जनाको मृत्यु भएको महाशाखाले जनाएको छ। सल्यानको यो तथ्यांक राष्ट्रिय तथ्यांकभन्दा फरक देखिएको छ।
स्क्रब टाइफस ‘ओरिएन्टिया सुसुगामुसी’ नामक ब्याक्टेरियाबाट संक्रमित माइटको टोकाइबाट सर्ने रोग हो। यो विशेषगरी वर्षायाममा झाडी, घाँसपात तथा घरवरपरका झाडीहरूमा पाइने माइटबाट सर्छ।
स्वास्थ्यकर्मीहरूले स्क्रब टाइफसको जोखिम कम गर्न सावधानी अपनाउन आग्रह गरेका छन्। घाँसदाउरा गर्दा शरीर पूरै ढाक्ने कपडा लगाउन, बुट तथा पञ्जा प्रयोग गर्न र घरवरपरका झाडी सफा राख्न सुझाव दिइएको छ। ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्ने वा टोकेको ठाउँमा कालो दाग देखिनेजस्ता लक्षण देखिएमा समयमै स्वास्थ्य संस्थामा जाँच गराउन पनि स्वास्थ्यकर्मीले अनुरोध गरेका छन्।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले असार महिनादेखि नै सातै प्रदेशका सबै जिल्लाका साथै केही स्थानीय तहका प्रमुख र प्रदेश सचिवसँग स्क्रब टाइफस रोकथाम तथा नियन्त्रणका विषयमा छलफल गर्दै आएको छ। मन्त्रालयले संक्रमणको अवस्था र प्रवृत्तिको नियमित निगरानीका लागि Early Warning and Reporting System (EWARS) तथा Surveillance Outbreak Response Management and Analysis System (SORMAS) लगायतका रोग निगरानी प्रणालीमार्फत अनुगमन गरिरहेको छ।
