त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टीयूटीएच) महाराजगञ्जमा २४सै घण्टा मेकानिकल थ्रोम्बेक्टोमी सेवा सुरु भएपछि ४२ वर्षीया एक महिलाको सफल उपचार भएको छ। यो सेवा एक्युट इस्केमिक स्ट्रोकका बिरामीका लागि उपलब्ध छ।
अस्पतालका रेडियोलोजी तथा न्यूरोइन्टरभेन्सन विशेषज्ञ डा. सुवास फुयालका अनुसार ती महिलाको मस्तिष्कको बायाँतर्फ रहेको मिडल सेरेब्रल आर्टरी (लेफ्ट एमवान एमसीए) मा रगतको क्लट जमेर रक्तसञ्चार अवरुद्ध भएको थियो। आधुनिक मेकानिकल थ्रोम्बेक्टोमी प्रविधिबाट रगतको क्लट निकालेर रक्तसञ्चार सुचारु गरिएपछि उनको अवस्थामा सुधार आएको हो। उपचारपछि अवरुद्ध रक्तनलीमा रक्तप्रवाह पूर्ण रूपमा सुचारु भएको अस्पतालले जनाएको छ।
मेकानिकल थ्रोम्बेक्टोमी कम चिरफार गर्नुपर्ने आधुनिक उपचार विधि हो। यसमा हात वा तिघ्राको रक्तनलीबाट मसिनो क्याथेटर मस्तिष्कको अवरुद्ध रक्तनलीसम्म पुर्याएर रगतको थक्का निकालिन्छ। यसका लागि टाउको खोल्नुपर्दैन, जसले बिरामीलाई थप जोखिमबाट बचाउँछ।
डा. फुयालले स्ट्रोक हुँदा मस्तिष्कमा रक्तसञ्चार अवरुद्ध हुन सक्ने र जसका कारण मस्तिष्कका कोषमा क्षति पुग्ने बताएका छन्। उनले उपयुक्त बिरामीमा समयमै मेकानिकल थ्रोम्बेक्टोमी गर्न सके रक्तसञ्चार पुनःस्थापित गर्न र अपाङ्गताको जोखिम कम गर्न मद्दत पुग्ने उल्लेख गरे। यद्यपि, यो उपचार सबै स्ट्रोकका बिरामीका लागि उपयुक्त नहुने उनको भनाइ छ। बिरामीको अवस्था, मस्तिष्कको स्क्यान र अन्य चिकित्सकीय आधारमा उपचारको निर्णय गरिने डा. फुयालले स्पष्ट पारे।
नेपालमा हरेक वर्ष करिब ५० हजार मानिसलाई स्ट्रोक हुने अनुमान छ, जसमध्ये १५ हजारको मृत्यु हुन्छ। स्ट्रोक नेपालमा मृत्युको तेस्रो प्रमुख कारण हो र कुल मृत्युको करिब ७.६ प्रतिशत स्ट्रोकका कारण हुने गरेको छ। इस्केमिक स्ट्रोक सबैभन्दा सामान्य प्रकार हो, जुन ८७ प्रतिशत बिरामीलाई हुन्छ। स्ट्रोकको उपचारमा ‘गोल्डेन आवर’ अर्थात् पहिलो केही घण्टा अत्यन्त महत्त्वपूर्ण हुन्छ। स्ट्रोक भएपछि ४ घण्टाभित्र अस्पताल पुर्याइएका ९० प्रतिशत बिरामीले उपचारपछि आफ्नो काम आफैं गर्न सक्ने हुन्छन्।
डा. फुयालका अनुसार अनुहार बाङ्गिनु, हातखुट्टा कमजोर हुनु वा शरीरको एक भाग नचल्नु, बोली अस्पष्ट हुनु अथवा बोल्न र बुझ्न कठिनाइ हुनु स्ट्रोकका प्रमुख लक्षण हुन्। यस्ता लक्षण देखिएमा तत्काल अस्पताल पुग्नुपर्छ र लक्षण आफैँ हराए पनि बेवास्ता गर्नु हुँदैन। नेपालमा स्ट्रोकका बिरामीको एकिन तथ्यांक नभए पनि न्यूरोलोजीमा स्ट्रोक भएर अस्पताल आउने बिरामी दोस्रो नम्बरमा पर्छन्।
नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०८२ साउन ३० गते ‘राष्ट्रिय स्ट्रोक उपचार व्यवस्थापन प्रोटोकल, २०८२’ स्वीकृत गरेको थियो। यस प्रोटोकलले आधारभूत अस्पताल, प्राथमिक अस्पताल र विशेषज्ञ तथा विशिष्टीकृत अस्पतालहरूको भूमिका स्पष्ट पार्दै उपचारका लागि स्पष्ट मार्गनिर्देशन तय गरेको छ। मन्त्रालयले यस प्रोटोकलको आधारमा सेवा प्रवाहका लागि अत्यावश्यक पूर्वाधार विकास एवं चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि गरिने जनाएको छ।
